विश्व ब्याडमिन्टन वरियतामा प्रिन्सको फड्को
काठमाडौँ, पुस २८ गते । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियर वरियतामा ठूलो फड्को मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासंघ (विडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिनुभएको छ ।
यसअघि प्रिन्स तेस्रो स्थानमा हुनुहुन्थ्यो । कोरोना महामारीका कारण सन् २०२१ मा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा विडब्लुएफले एक बर्षपछि वरियता परिवर्तन गरेको हो । प्रिन्स पहिलो पटक शीर्ष विरियतामा पुग्नुभएको हो । यसअघि उहाँ ११औँ, सातौँ हुँदै तेस्रोमा आउनुभएको थियो । प्रिन्स जुनियर वरियताको डबल्सतर्फ भने नवौँ स्थानमा हुनुहुन्छ ।
नयाँ वरियतामा प्रिन्सको १० हजार चार सय अंक छ । दोस्रो स्थानमा रहनुभएका मलेसियाका जस्टिन होको नौ हजार पाँच सय ९० र तेस्रो स्थानमा रहनुभएका मलेसियाकै मोहम्मद रजिफको ६ हजार नौ सय २५ अंक छ ।