खेलकुद |

राखेपमा वैकल्पिक नेतृत्व व्यवस्था गर्न माग

काठमाडौँ, माघ १६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्वका लागि वैकल्पिक व्यवस्था गर्न नेपाल ओलम्पियन संघले माग गरेको छ । संघका अध्यक्ष दीपक विष्टद्वारा आइतबार जारी विज्ञप्तीमा राखेप पछिल्लो दुई महिनादेखि नेतृत्व विहिन बन्दा खेलकुदमा असर परेको उल्लेख गर्दै सर्वोच्च अदालतबाट अन्तिम निर्णय नहुँदासम्म अर्को व्यवस्था गर्न माग पनि गरिएको छ ।

खेलकुद परिषद् सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तीको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई समयमा हुन नसक्दा समग्र खेलकुद नै अनिर्णयको बन्दी हुन पुगेको पनि विज्ञप्तीमा उल्लेख छ ।

‘परिषद्ले नियमित काम समेत गर्न नसकेको अवस्थामा यसलाई नियमित काममा फर्काउनका लागि नेपाल सरकार र सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौँ । अझै पनि यहि शून्यताले निरन्तरता पाउने हो भने यसले समग्र खेलकुदमा नै नकारात्मक असर पर्ने पक्का जस्तै छ,’ विज्ञप्तीमा भनिएको छ ।