खेलकुदको शून्यता हटाउन तीन संस्थाको माग
काठमाडौँ, माघ १९ गते । नेपाली खेलकुदका तीनवटा सक्रिय संस्थाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा देखिएको शून्यता छिटो हटाउन माग गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बुधबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाउन नहुने माग गरेका हुन् ।
राखेपको कार्यकारी पद सदस्य सचिवको नियुक्ति र बर्खास्तको विषयमा सर्वोच्च अदालतमा रिट परेका कारण खेलकुदको सामान्य काम कारबाही ठप्प भएकोले सरकारको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । सदस्य सचिव नहुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुुद, नवौँ राष्ट्रिय खेलकुद, १४औँ दक्षिण एसियाली खेलकुद (साग) लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सरकारले तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नियुक्त गरेपछि सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ति खारेजीको माग गर्दैै दायर गरेको मुद्दामा सर्वोेच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसयता दुई पटक रिटको सुनवाइका लागि पेसी तोके पनि दुवै पटक सरेको थियो । अदालतले यस विषयमा माघ २८ गतेका लागि पुनः पेसी तोकेको छ ।