खेलकुद |

पूर्व अन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग प्रदान

काठमाडौँ माघ २५ गते । पूर्व अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले आर्थिक सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षकहरु, खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको एक लाख ६६ हजार पाँच सय ६० रुपियाँ र खाद्यान्न सहयोग प्रदान गरिएको हो ।

राणलाई संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्व च्याम्पियन बिकास श्रेष्ठले उहाँको निवास ललितपुरमा पुगेर मंगलबार सहयोग प्रदान गर्नुभएको थियो । ब्याडमिन्टनकी पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय च्याम्पियन राणा लामो समयदेखि ब्लड क्यान्सरसँग संघर्ष गर्दै आउनुभएको छ ।