खेलकुद |

रुकेश र सुरोजको जोडी क्वार्टरफाइनलमा

काठमाडौँ, फाल्गुन ६ गते । नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी लिनिङ ११औँ पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । महर्जन जोडीले एपिएफका जोशेप अधिकारी र सुमन लिम्बुको जोडीलाई २१–१५, २१–१६ ले हराउनुभयो ।

क्वार्टरफाईनला यस जोडीको भिडन्त ललितपुरका शसिन डंगोल र सुमित महर्जनको जोडीसँग हुनेछ । शसिन र सुमितको जोडीले एनजेसी डल्लुका रिमोह महर्जन र स्वयं मानन्धरको जोडीलाई २१–१७, २१–१२ ले पराजित गर्नुभएको हो ।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा एपिएफका दिपेश धामी र बिजित थापामगर, सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठ, नेपाल पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठ तथा पुलिसका जीवन आचार्य र सुनिल जोशी अन्तिम आठमा पुग्नुभएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको यू–१७ महिलातर्फ एनआरएनकी सानिया चन्दले धनकुटाकी प्रसुना राईलाई २१–८, २१–२ ले हराउँदै क्वार्टरफाइनलमा पुग्नुभएको छ ।