खेलकुद |

दौडमा विश्वराम र मनीषा पहिलो

काठमाडौँ, फागुन ७ गते । जेसिस मावि, भक्तपुरका विश्वराम कुँवर र विजेश्वरी ज्ञान मन्दिर, काठमाडौँकी मनीषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित दौडको छात्र ५ किलोमिटर दूरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गर्नुभयो ।

पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोश्रो, बागेश्वरी मावि, भक्तपुरका अमराज थापा तेश्रो, सैनिक आवसिय मावि, भक्तपुरका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौँ स्थानमा दौड सक्नुभयो ।

छात्राको ३ किलोमिटर दूरी मनीषाले १५ मिनेट १५.८ सेकेन्डमा सक्नुभयो । दोसाेदेखि चौथो स्थान हासिल गर्नेमा क्रमशः जेसिसकी प्रकृति सुवाल, नेपाल आदर्श मावि, काठमाडौंकी सरिता साह, जेसिसकी उर्जा मधिकर्मी र जेसिसकै स्वागता खाइजु रहनुभएको छ । दुवै समूहमा शीर्ष पाँच स्थान हासिल गर्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार र ३ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सविच डा. दामोदर रेग्मी, राखेपका निमित्त सदस्य सचिव कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यसअघि दौडको मन्त्री गहतराजले नै उद्घाटन गर्नुभएको थियो । ७२औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजित दौडमा २ सय प्रतिस्पर्धी सहभागी भएको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिनुभयो । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।