पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई
पोखरा, फाल्गुन ७ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जित्नुभएको छ । महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्नुभएको छ ।
भुतपुर्व खेलाडी मन्चले पोखरामा आज आयोजना गरेको खुला म्याराथनकमा नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावकले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै चार लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
पोखरा म्याराथनमा यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पुरा गर्दै कीर्तिमान कायम गर्नुभएको थियो । उहाँको कीर्तिमानीलाई कोसगेईले तोड्नुभएको छ । कोसगेई पोखरा म्याराथन जित्ने दोस्रो बिदेशी धावक पनि हुनुहुन्छ । १५औँ संस्करणमा जापानी धावकले उपाधि जितेका थिए ।
खुला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो । सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पुरा गर्दै दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै चौथो हुनुभयो । पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा दौड पुरा गर्नुभयो ।
महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले दोस्रो पटक उचाल्दा शसस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठ दोस्रो र जुम्लाकी धाविका राममाया बुढा तेस्रो हुनुभयो । खुला म्याराथन विजेताले नगद चार लाख, दोस्रो हुनेले दुई लाख, तेस्रो स्थानमा रहने धावकले एक लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना रुवरुप ३० हजार रुपियाँ प्राप्त गर्नुभएको छ ।
महिलातर्फ हाफ म्याराथन विजेताले एक लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरुप १५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नुभयो ।