खेलकुद |

अनुमाया र प्रिन्स च्याम्पियन

काठमाडौँ, फाल्गुन ९ गते । नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११औँ पुष्पलाल स्मृति वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ वरीयताबिच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा जित हात पार्दै उपाधि उचाल्नुभएको हो । उपाधिसँगै अनुमायाले नगद ५० हजार र उपविजेता रशिलाले २८ हजार रुपियाँ प्राप्त गर्नुभयो ।

प्रतियोगिताको पुरुष एकल (उच्च १६औँ वरीयता प्राप्त) मा विश्व वरीयतामा जुनियर तर्फ नम्बर १ खेलाडी प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधि रक्षा गर्नुभएको हो । प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता हुनुहुन्छ । उपाधिसँगै प्रिन्सले नगद ५० हजार र उपविजेता नविनले नगद ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै पहिलो हुनुभयो। विजयी जोडीले २० हजार र उपविजेताले १० हजार रीपयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

पुरुषको उच्च १६ वरीयता देखि बाहेकमा कास्कीका विधान अधिकारी पहिलो हुनुभयो । पुरुष यू–१७ तर्फ सेनाका डेभिड थापा मगर च्याम्पियन हुनुभयो । आइतबार अवेर सम्पन्न प्रतियोगिताका विजेतालाई बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, सभासद्द राजकाजी महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।