बस्नेतलाई प्रधानसेनापति खुला म्याराथन उपाधि
काठमाडौँ, फाल्गुन १४ गते । प्रधानसेनापति खुला म्याराथनको उपाधि नेपाली सेनाका धावक कृष्णबहादुर बस्नेतले जित्नुभएको छ । काठमाडौँमा शनिबार बिहान भएको म्याराथनमा कृष्णले निर्धारित दुरी २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गर्नुभयो । सेनाकै खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो हुनुभयो ।
खड्कले निर्धारित दुरी २ घन्टा २२ मिनेट र बोगटीले २ घन्टा २४ मिनेट ४२ सकेन्डमा दौड पूरा गर्नुभएको थियो । बोगटी १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुनुहुन्छ । उपाधिसँगै सेनाका कृष्णाले तीन लाख रुपियाँ र याहामा मोटरसाइलक पुरस्कार पाउनुभयो । दोस्रो हुनुभएका खड्काले दुई लाख रुपियाँ र मोटरसाइकल तथा तेस्रो हुनुभएका बोगटीले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । चौथो देखि १०औँ हुनसफल धावकलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी महिलातर्फ हाफ म्याराथनको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले जित्नुभयो । हाफ म्याराथन पुरुषतर्फ सेनाका गजेन्द्र राई पहिलो हुनुभयो । १३औँ सागमा १० हजार मिटर दौडकी स्वर्ण विजेता श्रेष्ठले १ घन्टा १३ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्नुभयो । महिलातर्फ पुलिसकी राजपुरा पछाई दोस्रो र सेनाकी विश्वरुपा बुढा तेस्रो हुनुभयो । पछाईले १ घन्टा १५ मिनेट २२ सेकेन्ड र बुढाले १ घन्टा १८ मिनेट १२ सेकेन्डमा दौड सक्नुभएको थियो ।
पुरुषतर्फका विजेता राईले १ घन्टा ३ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्नुभएको थियो । सेनाका दीपक अधिकारी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा दौड सक्दै दोस्रो र बाग्लुङका तिर्थकुमार पुन १ घन्टा ४ मिनेट ५३ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । हाफ म्याराथनको महिलातर्फको विजेता सन्तोषीले ७५ हजार रुपियाँ र स्कुटर तथा पुरुषतर्फको विजेता गजेन्द्रले ७५ हजार र मोटरसाइकल पुरस्कार पाउनुभयो । प्रतियोगिताको विजेतालाई प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।