खेलकुद |

राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका हस्तान्तरण

काठमाडौँ, फाल्गुन १४ गते । राष्ट्रिय खेलकुद परिषद्बाट गठित ५ सदस्य राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका–२०७८ मस्यौदा उपसमितिका संयोजक सरोजकुमार पोखरेलले परिषद्का उपाध्यक्ष शिव कोईराला तथा निमित्त सदस्य सचिव कुलवहादुर थापालाई शुक्रवार संयुक्त रुपमा प्रारम्भिक मस्यौदा हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा उपाध्यक्ष कोईरालाले मस्यौदा उपसमितिलाई धन्यवाद दिदै भन्नुभयो–‘यहाँहरुले सवै कुराको अध्यायन गरेर नै मस्यौदा तयार गर्नु भएको छ । यसलाई अन्तिम रुप दिन दु्रत रुपले कार्य गर्न जरुरी छ । कानुनका कारण संघहरुको निर्वाचन रोकिएको छ, अब चाँडै निकास दिनु पर्छ ।’

राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलवहादुर थापाले लामो अनुभव भएका साथीहरुले तयार पारेको मस्यौदाले अवश्य पनि सम्पूर्ण पक्षलाई समेटेको बताउनुभयो । उहाँले भन्नुभयो–‘यद्यपी तुरुन्त सरोकारवालासँग छलफल गरेर सुझाबलाई समेटेर कानुन शाखाको राय अनुसार अन्तिम रुप दिनु पर्छ ।’ हस्तान्तरणकै अवसरमा निमित्त सदस्य सचिव थापाले खेलकुद विकास विभागका प्रमुख बज्र केसीलाई आवश्यक प्रकृया अगाडि बढाउन जिम्मेवारी समेत दिनुभएको छ ।

हस्तान्तरण अघि संघ संस्था समन्वय शाखाका प्रमुख समेत रहनुभएकासंयोजक पोखरेलले राष्ट्रिय खेलकुद विकास ऐन–२०७७, खेलकुद विकास ऐन–२०४९ लगायत खेलकुद संचालन सम्बन्धी ऐन, कानुन र कार्यविधि अध्यायन गरेर मस्यौदा तयार पारिएको बताउनुभयो । पारेको छ । परिषद्मा आवद्ध संघ संस्थालाई ब्यवस्थित ढंगले संचालन गर्न मस्यौदाले महत्वपूर्ण सहयोग पुग्ने ठानिएको छ ।