पल्सर स्पोर्ट्स अवार्ड चैतमा
काठमाडौँ, फाल्गुन १५ गते । १८औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चैत ८ गते हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार अवार्डको मिति सार्वजनिक गरेको हो । एनएसजेएफले विगत वर्षहरुमा भन्दा यसपटक फरक ढंगले अवार्ड कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ ।
एनएसजेएफले यस पटकको अवार्डलाई दशक अवार्ड अर्थात पछिल्लो एक दशकमा नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीहरुलाई सम्मानित गर्ने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले बताउनुभयो । यस पटक पछिल्लो दशकमा उत्कृष्ट खेल प्रदर्शन गरेका सर्वोत्कष्ट पुरुष खेलाडी, महिला, प्रशिक्षकसँगै पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस गरी आठ विधामा अवार्ड प्रदान गरिनेछ ।
दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा समावेश नगरिएको पनि अध्यक्ष सुवेदीले बताउनुभयो । अवार्डका लागि एनएसजेएफको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य गरिरहेको पनि आयोजकले जानकारी गराएको छ । दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षकको छनोट कार्य सुरु भईसकेको छ । पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट विजेता अवार्ड कार्यक्रमकै दिन घोषणा गरिने छ ।
पिपल्स च्वाइस अवार्डका लागि मनोनयन केही दिनमै सार्वजनिक गरिने बताईएको छ । दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपियाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
अवार्डका लागि एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीको अध्यक्षतामा अवार्ड मूल आयोजक समिति तथा सचिव गोविन्द रेग्मीको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ । अवार्डका लागि मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक अभिमन्यु गोल्छा र एनएसजेएफका अध्यक्ष सुवेदीले हस्तक्षर गर्नुभएको छ ।