नगरपालिका स्तरीय उमा कुङफु हुने
काठमाडौँ, फागुन २२ गते । नेपाल उमा कुङफु संघको आयोजनामा बूढानीलकण्ठ नगरपालिका स्तरीय उमा कुङफु प्रतियोगिता फागुन २८ गते हुने भएको छ । प्रतियोगितामा करिब १एक सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष/महिलामा गरी जम्मा १५ स्पर्धा समावेश छन् ।
प्रतियोगिताका खेलहरु बूढानीलकण्ठको कपनमा हुने छ । अध्यक्ष लामा, आयोजक संघका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगर, आयोजक संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईलगायतको टोलीले प्रतियोगिता सञ्चालन गर्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब सात लाख रुपियाँ लाग्नेछ ।
प्रतियोगितालाई लक्षित गरी संघको आयोजनामा रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । एकदिने सेमिनारमा १७ जना सहभागी थिए । सहभागीलाई अध्यक्ष लामाले सैद्धान्तिक तथा पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक मगरले प्रयोगात्मक ज्ञान बारे जानकारी दिनुभएको थियो ।