रविनलाई आङछिरिङ स्मृति गल्फ उपाधि
काठमाडौँ, फागुन २८ गते । दोस्रो संस्करणको स्वर्गीय आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि रविन फुयाँलले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार सम्पन्न प्रतियोगितामा फुयाँलले ४३ अंक बटुल्नुभयो ।
स्टेबलफर्ड विधामा सञ्चालित प्रतियोगिताको उपाधिसँगै फुयाँलले अल्टिच्युड एअरको हेलिकप्टर राइडससिहत आकर्षक उपहार प्राप्त गर्नुभयो । ४२ अंक बटुल्नुभएका निष्कर्षबहादुर घल समग्रमा उपविजेता बन्नुभयो । वेस्ट ग्रोसको उपाधि साम डबलर्डले जित्नुभयो । उहाँले ३३ अंक बनाउनुभएको थियो । ३२ अंक बनाउनुभएका मिथुन राई दोस्रो हुनुभयो ।
महिलातर्फ ३४ अंकका साथ गिता गुरुङ च्याम्पियन बन्नुभयो । ३१ अंक बनाउन सफल प्रतिभा राई दोस्रो हुनुभयो । सिनियर (६० बर्षमाथि) दिलिप रायमाझी पहिलो हुनुभयो । उहाँले ३६ अंक बनाउनुभएको थियो । जुनियर यू–१७ मा १० अंक सहित आईसटिना टण्डन पहिलो हुनुभयो । लङ्गेस्ट ड्राइभको पुरस्कार साम डबलर्डले हात पार्नुभयो ।
चार बर्डी हानेर महेश विक्रम कार्कीले मोस्ट बर्डीको पुरस्कार जित्नुभयो । क्लोजेस्ट टु दि पिनको पुरसकार चार्ली गुरुङको नाममा रह्यो । १६औँ होलमा ‘होल इन वान’ गर्न सफल झलेन्द्र भट्टराईले विशेष पुरस्कार प्राप्त गर्नुभयो । दुई दिने प्रतियोगितामा एक सय ५२ जना एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।
पर्यटन ब्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा यती एअरलाइन्स र तारा एअरले गल्फ प्रतियोगिता आयोजना गरेको हो । विजेतालाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे, क्याप्टेन जोसेफ नाथन, प्रख्यात आँखा रोग विशेषज्ञ सन्दुक रुइतलगायतले पुरस्कार प्रदान गर्नुभयो ।