वडास्तरीय लिगमा भुजुङको ह्याट्रिक
बेलिना थापा
लमजुङ, चैत १ गते । लमजुङको क्व्होलासोंथर गाउँपालिका युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय लिगमा वडा नं. ४ भुजुङले ह्याट्रिक गरेको छ । हालसम्म पाँच पटक आयोजना गरिएको उक्त फुटबल प्रतियोगितामा यो समेत गरी भुजुङेले चारपटक उपाधि जितेको छ । दोस्रो वर्ष वडा नं. ३ घलेगाउँलेले जितेको बाहेक पहिलो वर्ष र पछिल्लो तीन वर्ष भुजुङेले लगातार तीन वर्ष क्व्होलासोथर लिग जित्न सफल भएको हो ।
घलेगाउँको स्वर्गभूमि रगंशालामा आयोजित फुटवल अन्तर्गत सोमबारको फाइनल खेलमा भुजुङेले क्व्होलासाेंथर गाउपालिका ६, पसगाउँलाई पेनाल्टी सुटआउटबाट ७–६ गोलले हराएको हो । निर्धारित र थप समयमा कुनै पनि टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी अन्तर्गत सुरुमा ५–५ जनाले गोल प्रहार गर्दा सबैको गोल भएको थियो । त्यसपछि १–१ जनाले हान्दै गएकोमा साताँैपटक भुजुङका गोल किप्परले पसगाउँका खेलाडीको गोल प्रहार रोकेपछि भुजुङेले उपाधि चुमेको हो ।
प्रतियोगितामा सोमबार नै पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ९, गिलुङको टीमलाई २–१ गोल गरी पसगाउँ फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर २ मालिङलाई ४–१ गोल अन्तरले भुजुङका टिम पनि सहजै फाईनलमा प्रवेश गर्न सफल भएको थियो ।
पहिलो हुने लालीगुरास युवा क्लब भुजुङले एक लाख रुपियाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं. ६ पसगाउँको दूधपोखरी युवा क्लबले ५० हजार रुपियाँमा चित्त बुझाएको छ । विजयी खेलाडीलाई गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले पुरस्कार वितरण गर्नुभएको लालीगुरास युवा क्लबका अध्यक्ष नौराज गुरुङले जानकारी दिनुभयो ।
क्व्होलासाेंथर गाउपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गंगाबहादुर घलेले गाउँपालिकामा खेलकुदको विकास गर्न युवाको प्रतिभा उजागरका लागि हरेक वर्ष लिग आयोजना गर्दै आएको बताउनुभयो । क्व्होलासोंथर वडास्तरीय लिग फूटवल प्रतियोगिता फागुन २५ गतेदेखि सुरु भएको थियो ।