पाँच लाख पर्यटक लक्षित पूर्वाधार बनाउन निर्देशन
गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १६ गते । उपत्यका आसपासमा पाँच लाख पर्यटक बस्न मिल्नेगरी पर्यटन पूर्वाधार तयार गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन दिनुभएको छ । मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकसँगको छलफलमा उहाँले यस्तो निर्देशन
दिनुभएको हो ।
सार्वजनिक बिदाको दिनमा उपत्यका आसपासमा पाँच लाख पर्यटक अट्न सक्ने पर्यटन पद मार्ग, साइक्लिङ, टे«ल र पर्यटन उपजको सम्भावना अध्ययन गरेर मन्त्रालयलाई प्रतिवेदन पेस गर्न उहाँले निर्देशन दिनुभएको हो ।
बैठकमा मन्त्री भट्टराईले प्रदेश सरकारसँग समन्वय गरेर पर्यटन बोर्डको शाखा छिटो गठन गर्न पनि निर्देशन दिनुभएको छ । त्यस्तै नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगाली र स्पेनेलीसहित विभिन्न सातवटा भाषामा पर्यटन बोर्डको डिजिटल सामग्री तयार गर्न उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न र विश्व सम्पदा, हिमाल, टे«किङ, सिमसार, सङ्ग्रहालय, निकुञ्जलगायत ठाउँको भर्चुअल यात्रा सामग्री तयार गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
विद्यमान खोज अनुसन्धान, योजना निर्माण तथा पर्यटकीय क्षेत्रका वृत्तचित्रलगायतका सामग्री यतिबेला प्रकाशन प्रसारण गर्न पनि उहाँले बैठकमा बोर्डलाई निर्देशन दिनुभएको छ । पर्यटन मजदुरलगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सुरु गर्ने निर्देशन पनि उहाँले दिनुभएको छ ।
विभिन्न देशमा रहेका पर्यटन डेस्कलाई सक्रिय बनाएर पर्यटन क्षेत्रका सङ्घसंस्थासँग नेटवर्क विस्तार, पर्यटन उत्थानको योजना र नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटनको सम्भावनाबारे अध्ययन अनुसन्धान गर्न पनि उहाँले आग्रह गर्नुभयो ।