पर्यटन |

पूर्ण क्षमतामा उडान अनुमति माग

विश्वास रेग्मी

काठमाडौँ, असोज १ गते । आन्तरिक वायु सेवा सञ्चालकले ५० प्रतिशत मात्र यात्रु लिएर उडान सञ्चालन गर्न नसक्ने जनाएका छन् । वायुसेवा सञ्चालक सङ्घले बुधबार संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन र नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनअनुसार उडान सञ्चालन गर्न तयार रहे पनि ५० प्रतिशत मात्र यात्रु लिएर उडान गर्नुपर्ने व्यवस्थामा असहमति जनाएको हो ।
आन्तरिक उडान बिहीबारबाट सुरु हुँदै छन् तर सङ्घले भारतलगायत विश्वका अन्य मुलुकमा समेत सामाजिक दूरी कायम राखी ५० मात्र यात्रु बोक्ने व्यवस्था नभएको, ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्दा हवाइ भाडा महँगो पर्ने र यात्रुले तिर्न नसक्ने हुँदा उडान गर्नुको अर्थ नरहने दाबी गरेको छ ।
उडानका क्रममा कोरोना जोखिमबाट बच्ने सबै प्रोटोकलको पालना हुने भएकाले सङ्क्रमण फैलिने सम्भावना न्यून हुने सङ्घले जनाएको छ । छ महिनादेखि बन्द नियमित उडान पुनः सञ्चालन गर्दा ५० प्रतिशत मात्र यात्रु राख्न पाउने व्यवस्थाले वायु सेवा उद्योग नै धराशयी बन्ने सङ्घको ठहर छ । सङ्घले ५० प्रतिशतको अहिलेको व्यवस्थालाई खारेज गर्दै पूर्ण क्षमतामा नियमित उडान पुनः सञ्चालनका लागि आग्रह गरेको छ ।