पर्यटन |

पर्यटन प्रवर्धनका लागि ‘नेपाल साइकल यात्रा’

गोरखापत्र समाचारदाता
काठमाडौ, कात्तिक १७ गतें । आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्यसहित २५ दिने महाकाली–मेची साइकल यात्राका लागि साइकलयात्रीहरु प्रस्थान गरेका छन् । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा रहेको साइकल यात्रीलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले सोबार काठमाडौँबाट बिदाइ गर्नुभयो । सो टोलीले कञ्चनपुरको चाँदनी दोधारा पुलबाट बुधबार (कात्तिक १९) यात्रा प्रारम्भ गर्नेछन् । पहाड र तराईका प्रमुख शहरहरु छिचोल्दै एक हजार ६२४ किलोमिटरको यात्रा गरी इलामको पशुपतिनगरमा पुगेर मङ्सिर १० मा साइकल यात्रा सम्पन्न हुने जनाइएको छ ।
सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई बचाउन भिन्न संस्कृति, भूगोल र मनलाई जोड्दै आन्तरिक पर्यटनमा जोड दिनुपर्ने सन्देशसहित थालिएको यात्रालाई ‘नेपाल साइकल उत्सव’ नाम दिइएको छ । कोभिडको कारण सिथिल बनेको नेपालको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनलाई प्रोत्साहित गरी जोगाउनुपर्ने धारणा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.रेग्मीले व्यक्त गर्नुभयो । उहाँले संकटकै बेला समाजलाई नयाँ सन्देश दिनुपर्नेमा जोडदिँदै आन्तरिक पर्यटन प्रवर्धन मार्फत् नेपालको पर्यटन व्यवसायलाई जोगाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, विश्व साइकलयात्री पुष्कर शाहले कोभिडको जटिल परिस्थितिमा पनि आन्तरिक पर्यटन सम्भव छ र सुरक्षित छ भन्ने सन्देश दिन साइकल यात्रा थालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्य यातायातका साधनभन्दा साइकलयात्री आफैमा सुरक्षित हुन्छ किनकि उ एक्लै दौडिन्छ । त्यसैले नयाँ उत्साह र उमंग बोकेर साइकलको चेनजस्तै विभिन्न शहरसँग जोडिएर यात्रामा हिँड्दै छौ ।”
यसैगरी, पर्यटन व्यवसायीसमेत रहनुभएका साइकलयात्री एक्सपान्सन दाहालले साइकलबाट सुरक्षित रुपमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सन्देश दिन यात्राले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “कोभिड–१९ ले थलापरेको पर्यटन व्यावसायलाई व्यूँझाउन पर्यटनकर्मीले गरेको यो सांकेतिक साइकल प्रयास हो ।”
साइकल यात्रामा दुई जना महिलासहित १५ जना हुनुहुन्छ । यात्रामा विश्व साइकलयात्री पुष्कर शाह, राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पाण्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पाण्डे, सीएन पाण्डे, लक्ष्मी श्रेष्ठ, निरा बराल, अशोक सिलवाल र कमलजित सिं हुनुहुन्छ । साइकल यात्रा महेन्द्रनगर, ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, सिन्धुली, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काकडभित्तासम्म पुग्नेछ । नेपाल साइकल उत्सवमा पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोग छ ।