पर्यटन प्रवद्र्धन गर्न ‘नेपाल साइकल उत्सव’
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १८ गते । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित २५ दिने महाकाली–मेची साइकल यात्राका लागि साइकलयात्री प्रस्थान गरेका छन् । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा रहेको साइकलयात्रीलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले सोमबार काठमाडौँबाट बिदाइ गर्नुभयो ।
सो टोलीले कञ्चनपुरको चाँदनी दोधारा पुलबाट बुधबार (कात्तिक १९) यात्रा प्रारम्भ गर्नेछ । पहाड र तराईका प्रमुख सहर छिचोल्दै एक हजार ६२४ किलोमिटरको यात्रा गरी इलामको पशुपतिनगरमा पुगेर मङ्सिर १० मा साइकल यात्रा सम्पन्न हुनेछ ।
सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई बचाउन भिन्न संस्कृति, भूगोल र मनलाई जोड्दै आन्तरिक पर्यटनमा जोड दिनुपर्ने सन्देशसहित थालिएको यात्रालाई ‘नेपाल साइकल उत्सव’ नाम दिइएको छ ।
कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनलाई प्रोत्साहित गरी जोगाउनुपर्ने धारणा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले व्यक्त गर्नुभयो । उहाँले सङ्कटकै बेला समाजलाई नयाँ सन्देश दिनुपर्नेमा जोड दिँदै आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत नेपालको पर्यटन व्यवसायलाई जोगाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै विश्व साइकलयात्री पुष्कर शाहले कोभिडको जटिल परिस्थितिमा पनि आन्तरिक पर्यटन सम्भव छ र सुरक्षित छ भन्ने सन्देश दिन साइकल यात्रा थालिएको बताउनुभयो ।
यसैगरी पर्यटन व्यवसायीसमेत रहनुभएका साइकलयात्री एक्सपान्सन दाहालले साइकलबाट सुरक्षित रूपमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सन्देश दिन यात्राले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।
साइकल यात्रामा दुई महिलासहित १५ जना हुनुहुन्छ । साइकल यात्रा महेन्द्रनगर, ठाकुरद्वारा, नेपालगञ्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौँडा, सिन्धुली, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काँकडभिट्टासम्म पुग्नेछ ।
नेपाल साइकल उत्सवमा पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स एसोसिएसन
(नाटा) र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को सहयोग रहेको छ ।