पर्यटन |

जलचर संरक्षणका लागि नारायणीमा नियमित गणना


ज्ञानु पंगेनी
कावासोती, मंसिर २० गते । जलमा आश्रित जिवजन्तु र चराचुरुङ्गीको अवस्था कस्तो छ भन्ने बारेमा जानकारी लिनका लागि नवलपुरको नारायणी नदीमा नियमित रुपमा गणना हुने गरेको छ ।
प्रत्येक वर्ष हिउँदको समयमा यहाँ महिनामा दुई पटकसम्म १५/ १५ दिनको फरकमा गणना गर्ने गरिएको छ । भदौ असोजदेखि बैशाख /जेठसम्म प्रतेक वर्ष गणना गर्दै आएको संरक्षणकर्मी डिबि चौधरीले जानकारी दिनुभयो । चोरी सिकार नियन्त्रण युवा जागरण अभियान (सिबिएपियुको) संयाजकत्वमा गणना गर्ने गरिएको छ । मध्यवर्ती , चितवन राष्ट्रिय निकुञ्ज, जटायु रेष्टुरेष्ट व्वस्थापन समितिका प्रतिनिधिलगायत सरोकारवालहरुको सहभागितामा गणना हुँदै आएको चौधरीले बताउनुभयो । विषेशगरी नारायणी नदीमा पाइने गोहीको अवस्थासंगै पानीमा आश्रित चराचुरुङ्गी , बाहिरबाट आउने पाहुना चराका बारेमा बुझ्नका लागि पनि गणना गर्ने गरिएको उहाँको भनाई छ । नियमित रुपमा हुने गणनाले जिवजन्तको संख्यामा भएको घटबढका बारेमा जानकारी हुने , नदी आसपासमा हुने गैरकानुनी मानविय गतिविधीकोे निगरानी समेत गरिने हुँदा यसकामबाट संरक्षणमा टेवा पुग्ने चौधरीले बताउनुभयो । संरक्षणका लागि चुनौती के छन् र के योजना निर्माण गर्न आवश्यक छ भनी एकिन गर्न पनि मदत पुग्ने चौधरीले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको मध्यवर्ती क्षेत्र भएकाले नवलपुरको नारायणी नदी तटिय क्षेत्रमा पाईने जैविक विविधताको संरक्षण र सम्बद्र्धन गर्दै पर्यापर्यटनबाट गाऊठाऊको विकास गर्नका लागि आफुहरु संरक्षणमा सक्रिय रुपमा लागेको उहाँ बताउनुहुन्छ ।
नवलपुरको गैंडाकोटदेखि त्रिवेणीसम्म पर्ने नारायणी नदीमा तिन वटा छुट्टाछुट्टै समूहले डुङ्गामार्फत् गणना गर्ने गरिएको अमलटारी उपभोक्ता समिति अन्तर्गत रहेको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका संयोजक करण महतोले जानकारी दिनुभयो ।
गोही जाडोको समयमा नारायाणी नदी किनारमा घाम तापेर बस्ने भएकाले गणनाका लागि यो समय उत्तम मानिने उहाँले बताउनुभयो । वर्षाको समयमा गोही, नजिकका साना खोलानाला र पोखरीमा सर्ने र जाडो मौसममा नारायणी नदीमा जाने उहाँको भनाइ छ ।
गैडाकोट र देवचुली क्षेत्रमा शिशवार उपभोक्ता समिति, कावासोती क्षेत्रमा लामिचौर उपभोक्ता समिती र मध्यविन्दु र त्रिवेणी क्षेत्रमा अमलटारी उपभोक्ता समिती अन्तर्गत रहेको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानको संयोजकत्वमा गणना हुँदै आएको संयोजक महतोले जानकारी दिनुभयो ।
नियमित रुपमा हुँदै आएको गणनामा नारायणी नदीमा घडियाल र मगर गोही किनारमा देखिने गरेको लामिचौर उपभोक्त समिति अन्तर्गत रहेको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका संयोजक केवलप्रसाद चौधरीले जानकारी दिनुभयो ।
यो महिनामा गरिएको पछिल्लो गणनामा लामिचौर उपभोक्ता समिती र अमलटारी उपभोक्ता समिति अन्तर्गत पर्ने नदीमा करीब १५ वटा घडियाल गोही देखापरेको उहाँले बताउनुभयो । सातआठ वर्षअघिसम्म नवलपुमा गोहिको संख्या राम्रै थियो । तर, पछिल्ला वर्षहरुमा गोहीको संख्या केही कम हुँदै गएको उहाँले बताउनुभयो । नवलपुरमा लामिचौर उपभोक्ता अन्तरगत पर्ने क्षेत्र गोहिको बासस्थान भएको क्षेत्र हो । तर , अहिले विभिन्न कारणले गर्दा बासस्थान नास हुँदै जादा गोहिको संख्यामा कमि आएको उहाँ बताउनुहुन्छ ।
वर्षामा आउने बाढी , माछा मार्दा जालीमा फसेर मर्ने , जलवायु परिवर्तन , नदीमा बढ्दो प्रदुषण , नवलपुर भएर बग्ने नारायणी नदीमा पानीको सतह घट्नु लगायतका कारणले गोहिको संख्यामा कमी हुँदै गएको आकलन गरिएको उहाँ बताउनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्र आसपास बस्ने बासिन्दालाई संरक्षणमा उत्प्रेरित गर्दै जिवजन्तुको शिकार र बिनास होईन संरक्षण गरेर जीविकोपार्जन गर्न सहज हुन्छ भन्ने चेतना बृद्धि गर्ने काममा चोरी सिकार युवा जागरण अभियानका प्रतिनिधिहरु रातदिन खटिएको उहाँ बताउनुहुन्छ । यहाँका युवाहरु एकजुट भएर जैविक विविधताको संरक्षणमा अग्रसर भएका कारणले नै यहाँ पर्यापर्यटनको विकास भएको र जैविक विविधताको संरक्षण भएको उहाँको भनाइ छ । कोभिड –१९ का कारण भएको लकडाउनका समयमा पनि अभियानका प्रतिनिधिहरुले नियमित रुपमा जंगलमा गस्ती गर्ने , निगरानी गर्ने गरिरहेको उहाँले बताउनुभयो ।