चिसापानीमा पर्यटकको चहलपहल
धनगढी समाचारदाता
धनगढी, मङ्सिर २७ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको कैलालीको चिसापानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
कोरोना महामारीका कारण केही महिनासम्म सुनसान रहेको चिसापानीमा दशैँ, तिहारपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन् । लुम्बिनी प्रदेशसँग जोडिएको चिसापानी सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार मानिन्छ । विशेष गरेर कर्णाली नदीमा बनेको कर्णाली पुल अवलोकनका लागि कैलाली, कञ्चनपुर, डोटी र लुम्बिनी प्रदेशको बर्दिया, बाँकेलगायतका जिल्लाबाट पर्यटक पुग्ने गरेका छन् ।
पछिल्लो समय चिसापानीमा आन्तरिक पर्यटक आउने क्रम बढेको सिद्धार्थ होटलका म्यानेजर जावेद अख्तरले बताउनुभयो । अहिले केही हदसम्म पर्यटकको आगमन बढेको छ, उहाँले भन्नुभयो, “तर जाडो भएपछि एक÷दुई दिनयता फेरि मान्छेको चहलपहल केही कम देखिन्छ । ”
चिसापानीमा मान्छे व्यावसायिक सिलसिलामा भन्दा पनि रमाइलो गर्नका लागि पुग्ने गरेका छन् । धेरैजसो पर्यटक दिनभरि रमाउने र साँझतिर आ–आफ्ना घरतिर फर्कने गरेका छन् । पछिल्लो समय कोरोना महामारी र बन्दाबन्दीका कारण धेरै समयसम्म घरभित्रै गुम्सिएर बसेकाहरू रमाइलो गर्न चिसापानीसम्म आइरहेको अख्तरले बताउनुभयो ।
कर्णाली नदीमा बनेको पुल हेर्नका लागि भारतको लखनऊ, पलिया, नानपारा, रूपैडिया, बहराइचलगायतका ठाउँबाट भारतीय पर्यटक आउने गरेका थिए । कोरोना महामारी र नेपाल सरकारले सीमा नाका बन्द गरेका कारण अचेल भने भारतीय पर्यटक छैनन् । लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेले भन्नुभयो, “कोरोनाको महामारी चलेपछि भारतीय पर्यटक छैनन् तर अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ । ”
उहाँले पछिल्लो समय मान्छे घुमफिरका लागि घरबाट बाहिर निस्के पनि कोभिडको डरले खानेकुरा र पानी आफ्नै घरबाट लिएर आउने गरेको बताउनुभयो ।
यसैबीच लम्कीचुहा नगरपालिकामै रहेको आमपानी झरनासम्म घुम्न जाने क्रम पनि बढेको छ । सो झरना लम्की बजारबाट पाँच किलोमिटरको दूरीमा रहेको छ ।