पर्यटन |

बाग्लुङ्गकाे गाईघाट झरना जहाँ पानी बग्छ तर मन थामिन्छ !

नवीन शिशिर विक
बागलुङ, पुस ३ गते । वरिपरि दुई ठूला पहाड, त्यही पहाडको बीचभागबाट छङ्छङ् गर्नेे झरना ।बागलुङकाे गाईघाट पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । झरनाको पानी निरन्तर आफ्नो गतिमा बगि रहन्छ त्यहाँ पुग्ने पर्यटकको मन भने लोभलाग्दो झरनाको आकर्षण रोकिन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् ।

बागलुङको ताराखोला गाउँपालिका–१ मा पर्ने गाईघाट झरनाले अहिले मुहार फेरेको छ । गाउँलेले प्रकृतिको देन भनेर पुकार्ने झरना पर्यटकीय गन्तव्य बनेको छ । पूर्वाधार र प्रचारप्रसारले झरना आगन्तुकको रोजाइमा परेको हो ।

झरनामा छाँगावरोहण ‘क्यानोनिङ’ को राम्रो सम्भावना रहेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । गर्मी याममा झरना अवलोकनसँगै छाँगावरोहण र प्राकृतिक तलाउमा पौडी खेल्ने गरी पूर्वाधार विकास गरिनुपर्ने उहाँको भनाइ छ ।
गलकोट नगरपालिका र ताराखोला गाउँपालिका जोड्ने सडक आडमै रहेकोले आवातजावत सहज छ । केही मिनेटको यात्रामा बजार क्षेत्र पुगिने हुँदा पर्यटकलाई खाना, बासको पनि समस्या छैन ।
व्यवस्थापन र विकासको जिम्मा अहिले गाउँपालिकामा सरेको छ । गाउँपालिकाले झरना घुम्नको लागि प्रतिव्यक्ति ३० रुपियाँ शुल्क निर्धारण गरेको छ । टिकटको जिम्मा बोलपत्र आव्हान मार्फत स्थानीय ठेकदारलाई दिइएको छ ।

हाल ‘वार्षिक ३५ हजारमा ठेक्का दिइएको छ’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, ‘गाईघाटकै विकासमा सहयोग पुगोस् भनेर शुल्क लिएका हौँ ।’ विद्यार्थीलाई भने ५० प्रतिशत छुट दिएको घर्तीले बताउनुभयो ।

चाडबाड र विदाको दिन दैनिक सय भन्दा बढी पर्यटक आउने गरेको टिकट बेच्ने अम्मरबहादुर नाइसाले बताउनुभयो । ‘भदौ यता घुम्नेको संख्या दुई हजार बढी नाघ्यो’ उहाँले भन्नुभयो, ‘शैक्षिक भ्रमण, वनभोजका लागि पनि आउँछन् ।’ ५० मिटर अग्लो झरनाको भित्रपट्टी रहेको गुफाले पनि पर्यटकलाई आकर्षित गर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमि मोटर यात्रामा गाईघाट पुग्न सकिन्छ ।

चार वर्षअघि गलकोट घुम्टे पर्यटन विकास केन्द्रको पहलमा झरनाको योजनाबद्ध विकास अघि बढेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट झरना किनारमा पौडी पोखरी, वनभोज, विश्राम स्थल, पदमार्ग लगाएतका भौतिक संरचना बनेका छन् ।

गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । ५० जना जति अट्ने गुफा केही वर्षअघि फेला परेको थियो ।