पशुपतिमा आन्तरिक पर्यटकको आकर्षण बढाउन सकिने
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रका पुरातात्त्विक महत्त्वका मठ मन्दिरको संरक्षण र जीर्णोद्धार एवं आध्यात्मिक, सांस्कृतिक विकासले पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो ।
मन्त्री ढकालले पशुपति क्षेत्रका धार्मिक पीठ, सम्पदा, संस्कृति र शास्त्रीय विधिअनुसार पशुपतिको दर्शनबारे युवा पुस्तालाई जानकारी गराउन सके आन्तरिक पर्यटनको समेत आकर्षण बढ्ने बताउनुभयो । उहाँले सोमबार बिहान पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीसँग आयोजित अन्तरक्रियामा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा आइतबार पदभार ग्रहणपछि पशुपति क्षेत्रबाट आफ्नो कार्य प्रारम्भ गर्नुभएको हो । उहाँले गुह्येश्वरी, वासुकी, पशुपतिनाथको विधिपूर्वक दर्शन एवं अवलोकन गर्नुभएको थियो । उहाँले पशुपति क्षेत्रको
जग्गा संरक्षण एवं भक्तजनको सुविधाका लागि त्यसको विकासमा पदाधिकारी एवं कर्मचारीले विशेष ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले फूल प्रसादका पसल व्यवस्थापन एवं तिलगङ्गाको बस्ती स्थानान्तरणलाई छिटो सम्पादन गर्न कोषको ध्यानाकर्षण गराउनुभयो । यस्तै पुरातìव विभागका महानिर्देशक दामोदर गौतमले पुराताìिवक सम्पदा क्षेत्रका रूपमा रहेको पशुपति क्षेत्रका जात्रा, पर्व एवं मठ मन्दिरको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले पशुपति क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको थियो ।