पर्यटन |

प्याराग्लाइडिङ परीक्षण सफल

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, माघ ११ गते । सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–१, खार्चेमा बिहीबार प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको हो । दुई हजार छ सय मिटर अग्लो खार्चेबाट प्याराग्लाइडिङको उडान सुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिनुभयो ।
प्याराग्लाइडिङ पाइलट पेम्बा वाङ्छु शेर्पाले आफ्नै गाउँको आकाशमा प्याराग्लाइडिङ उडाउन पाउँदा खुसी लागेको बताउनुभयो । नेपालका विभिन्न क्षेत्रमा प्याराग्लाइडिङको उडान गर्दै आएका शेर्पाले सोलुखुम्बुको खरिखोला, वाकु र वाप्सा क्षेत्रमा पनि सम्भावना रहेको बताउनुभयो ।
पर्यटक गाइडसमेत रहेका स्थानीय पासाङकाजी शेर्पाले हिमाल हेर्न र चढ्न आउने स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङको समेत आनन्द लिन सक्ने हुँदा पर्यटन प्रवद्र्धन प्याराग्लाइडिङले सहयोग गर्ने बताउनुभयो ।
पर्यटकीय क्षेत्रका रूपमा खरिखोलालाई विकास गर्न प्याराग्लाइडिङले सहयोग गर्ने स्थानीय होटल व्यवसायी रमेश तामाङको विश्वास छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडाध्यक्ष ङिमादोर्जी शेर्पाले बताउनुभयो ।
सगरमाथा क्षेत्र, लुक्ला, नाम्चे जान सडक मार्गको नजिक पर्ने उक्त क्षेत्रमा पर्यटकका लागि प्याराग्लाइडिङ उपयुक्त हुने वडाध्यक्ष शेर्पाको भनाइ छ ।