डेढ वर्षदेखि हुम्लाका पर्यटकीय होटेल बन्द, ब्यवसायी मर्कामा
राजन रावत
हुम्ला, फागुन २५ गते । मानसरोवर कैलाशको कारण फस्टाउने क्रममा रहेको हुम्लाका पर्यटकीय होटेलहरु डेढ वर्षदेखि बन्द रहँदै आएका छन् । पहिलो छ महिना हिमपातले बन्द रहेका होटेलहरु त्यो सँगै कोरोना संक्रमणको कारण मानसरोवर कैलाशको सिजन सुरु नभएपछि त्यसयता पनि बन्द रहँदै आएका हुन् ।
गत बैशाखबाट कोरोना संक्रमणको त्रासले बन्द रहेको मानसरोवर कैलाशको धार्मिक यात्रा बन्द रहँदा हुम्लाका पर्यटकीय होटेलहरु डेढ वर्षदेखि बन्द रहँदै आएको होटेल संघ हुम्लाका सचिव विनोद लामाले जानकारी दिनुभयो । होटेल लामो समय बन्द रहदा ब्यबसायी पनि मर्कामा पर्दै आउनुभएको छ । पर्यटक आगमन सुरु भएको तीन वर्षपछि कोरोना संक्रमण आएको कारण होटेलमा लगानी गर्नुभएका होटेल ब्यबसायी सबै डुबेका अबस्था रहेको उहाँले बताउनुभयो । मानसरोवर कैलाशका लागि आउने धार्मिक पर्यटक संख्या बढ्दै जाँदा सिमकोट र हिल्सामा डेढ दर्जन पर्यटकीय होटेल नयाँ निर्माण भई सञ्चालनमा आएका थिए ।
अधिकांश होटेल ब्यवसायीले बैंकबाट कर्जा निकालेर होटेल निर्माण गरेको कारण अहिले बैंकको ब्याज तिर्न पनि कठिन भएको होटेल व्यवसायी पेमा लामाले बताउनुभयो । २०७६ सालको असोज यता बन्द रहेका होटेलमा लगाएका तालामा खिया लाग्ने अबस्था रहेको सृजना भएको छ । अब ब्यवसाय छोड्ने वा के गर्ने भन्नेमा ब्यवसायीलाई द्धिबीधा सृजना भएको लामाले बताउनुभयो । होटेल नचल्ने देखिएपछि कतिपय होटेल ब्यवसायी बन्द गरेर अन्य पेशाको खोजीमा लाग्नुभएको छ । केही होटेलले कुरुवा राखेर पर्खेर बस्नुभएको छ भने धेरैले बन्द नै गरिएको छ । पर्यटकीय सिजन सुरु हुँदा तीस देखि डेढ करोडसम्म कमाई गर्ने सिमकोट र हिल्साका होटेल ब्यवसायी हाल हायल कालय अबस्थामा पुगेका छन् ।