पर्यटन |

हेलम्बु 'ग्रेट हिमालय ट्रेल' निर्माण शुरू

क्षितिज सिवाकोटी / फोटो– मनोजरत्न शाही
सिन्धुपाल्चोक, फागुन २७ गते । हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न ६९ किलोमिटर लामाे बहुप्रतिक्षीत पदमार्ग बनाउने कामकाे थालनी भएकाे छ  ।
यो पदमार्ग सम्पन्न भएपछि हेलम्बुमा पर्यटकहरुको आगमन बढ्ने बताइएको छ ।


लाङटाङ राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने तीन द्वार मध्ये हेलम्बुबाट यस आर्थिक वर्षमा एकसय ६४ जना पर्यटकहले प्रवेश गरेको सरकारी तथ्याङ्क रहेको छ ।
शेमाथाङ गाउँका स्थानीय टासी ह्याल्मोका अनुसार देशका सशस्त्र द्वन्द्व शुरु हुनु अघि हेलुम्बको नाका भएर प्रायः पर्यटकहरु निकुञ्जमा प्रवेश गर्ने गर्दथे ।
नागीडाँडा बुद्ध पार्कबाट शुरु हुने यस पदमार्ग आमा याङ्ग्री पर्वत (३७७१ मिटर) पार गरेर घोप्टेघाङमा सम्पन्न हुनेछ ।
दुईवर्ष अघिदेखि पदमार्ग निर्माण शुरु गरिए पनि केही किलोमिटर मात्र पदमार्ग बनेको  दाबी गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रदेश सांसद निमा लामा ह्याल्मोले पदमार्गमा पर्यटकको सहजताको लागि ढुङ्गा छाप्ने बताउनुभयो ।
उहाँका अनुसार थप करिब चारदेखि पाँच अरब रुपियाँको बजेट अनुमानित गरिएको यस पदमार्ग निर्माणको लागि प्रदेश र संघीय संसदमा बजेटको लागि ताकेता भैरहेको छ ।
यस पदमार्ग निर्माणको लागि अहिलेसम्म छकरोड रुपियाँ खर्च भैसकेको छ । हेलम्बु गाउँपालिकाबाट एककरोड ६५ लाख, वागमति प्रदेशबाट पचास लाख, र नेपाल पर्यटन बोर्डले तीनलाख ९२ लाख रुपियाँ खर्च भैसकेको बताइएको छ ।