पर्यटकबारे सूचना ‘सेटलाइट एकाउन्ट’मा राख्न प्रक्रिया शुरु
छेटु शेर्पा
काठमाडौं, चैत १९ गते । नेपाल आउने विदेशी पर्यटनको तथ्याङ्कलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटक सेटलाइट एकाउन्टको काम शुरु भएको छ । नेपाल पर्यटन बोर्डलाई सरकारले पर्यटकको एकाउन्ट राख्न जिम्मेवारी दिए पछि सोसम्बन्धी प्रक्रिया शुरु गरिएको हो ।
विदेशी पर्यटकलाई उनीहरुको भ्रमण तालिकाबारे प्रश्न सोधेर एकाउन्टलाई प्रभावकारी बनाउने काम अघि बढाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । प्रत्येक पर्यटकको प्रभावकारी रुपमा एकद्धार एकाउन्ट बनाउने लक्षले काम अघि बढेको र आउने वर्ष देखि सो एकाउन्टबाटै नेपालमा कुनकुन देशबाट कति पर्यटक आए भन्ने गणना शुरु हुने रेग्मीले बताउनुभयो । बोर्डले आर्थिक बर्ष २०७६÷०७७ देखि काम शुरु गरेको जनाएको छ ।
हालसम्मबोर्डले मेनुअल रुपमा झन्झटिलो पाराले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)बाट तथ्याङ्क राख्दै आए पनि प्रभावकारी हुन नसके पछि सेटलाइट अकाउन्टबाट काम थाल्न सरकारले तीनवर्ष अघिनै निर्णय गरेको हो सेटलाइट एकाउन्ट सिस्टमबाट पर्यटकको तथ्याङक संकलन शुरु भए पछि पर्यटकका नाममा हुने गलत क्रियाकलापको समेत अन्त्यहुने नेपालपर्यटन बोर्डका सञ्चालक समिति सदस्य ङवाङ ङिमा शेर्पाले बताउनुभयो ।
पर्यटक माथिहुने लुटपाट, पर्यटकले गर्ने गैरकानुनी काम, पदयात्राका लागि अनिवार्य रुपमा गाइडको प्रयोग, पर्यटकको गैरकानुनी नेपाल बसाइलगायतका काम सेटलाइट तथ्याङ्क संकलन पछि अन्त्य हुने शेर्पाले बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले यो कामको शुरुवात गर्नु भएको थियो
कुन देशबाट कति संख्यामा पर्यटक नेपाल प्रवेश गरे ति पर्यटकको स्तर, उनीको उदेश्य, पदयात्रा र अन्य कामको अवधि समेतको यकिन तथ्याङ्क राख्ने वोर्ड तयारी रहेको जनाएको छ । यो सिष्टम जडान पछि संकलित तथ्याङ्कले पर्यटन क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान कस्तो छ भनेर आकलन गरी थप योजनाहरु तय गर्न सहयोग पुग्नेछ ।
यस कामले पर्यटक संख्या र पर्यटकको गतिविधिसम्बन्धी तथ्याङक राखिए पछि पर्यटनसम्बन्धी सूचनाको बिश्लेषण सहयोग पुग्नेछ । हाल बोर्डले सूचना व्यवस्थापन गर्न पर्यटकको फारम फरेर तथ्याङक संकलन गर्ने गरेको छ तर यो प्रभावकारी नहुदाँ अध्यागमन विभाग र बोर्डकै तथ्याङ्कमा फरक हुने गरेको पाइएको छ । बोर्डले वल्र्ड टुरिजम अर्गनाइजेसन (यूएन–डब्लुटिओ)को सहयोगमा काम अघि बढाएको जनाएको छ ।
बोर्डले जहाजबाट आएका पर्यटकको मात्र तथ्याङक राख्ने गरेको छ तर देशका विभिन्न नाकाबाट पैदल र सवारी साधनबाट प्रवेश गरेका पर्यटकको तथ्याङ्क राख्ने गरेको छैन । त्यसैले पर्यटकको यकिन तथ्याङक पाउन सकिएको छैन । सरकारले गतवर्ष २० लाख पर्यटक भित्राउने लक्ष राखेर करोडाैं बजेट खर्चे पनि कोरोना भाइरसका कारण लक्ष हासिल गर्न नसकेको बोर्डले जनायो । हाल नेपालको आफ्नै सेटलाइट एकाउण्ट नहुँदा सूचनाको गोपनीयता चुहावट हुनसक्ने सुझाव जानकारहरुको छ ।