पर्यटन |

वसन्त ऋतुमै अन्नपूर्ण आरोहणको कीर्तिमान राख्छु : सर्मिला लामा

छेटु शेर्पा
काठमाडौं, चैत २२ गते । सगरमाथा आरोहणको लक्ष्य लिएर आधार शिविरबाट उक्लिनुभएकी आरोही सर्मिला लामा आठ हजार मिटरसम्म पुगेपछि शरीरले साथ नदिँदा उहाँचुचुरो नजिकैबाट फर्कनुभयो ।
करिब २० लाख रुपिया खर्चेको आरोहण सफल बन्न सकेन उहाँको महिनौंको मिहिनेत, दुःख, थकाइ सबै चकनाचुर भयो तर पनि उहाँले आरोहणलाई निरन्तरता दिने हिम्मत भने हार्नुभएन । काखे छोरालाई छाडेर भए पनि आरोहण सफल बनाउने हिम्मत उहाँमा एक इञ्च पनि डगमगिएन । अहिले असफल आरोही बनेपछि उहाँको बेग्लै पहिचान छ ।
असफलताबाट मिलेको यो सफलतापछि उहाँले सगरमाथा, मनास्लु लगायत आधा दर्जन हिमालको सफल आरोहण सम्पन्न गरिसक्नुभएको छ । संसारका अग्ला १४ हिमालको आरोहण गर्ने लक्ष्यमा उहाँ जुट्नुभएको छ । अभियान सफल बनाउन वसन्त ऋतुमा अन्नपूर्ण हिमालको आरोहण गर्ने आधार शिविर बाटो लाग्नुभएको छ ।
उहाँले भन्नुभयो, मेरो सगरमाथा आरोहण पहिलो पटक असफल भयो मैले हिम्मत हारिनँ दोस्रो पटक फेरि आरोहण गरें र सफल भएँ । लाखौं खर्च भयो तर हिम्मत हारेको भए सायद सफल आरोही बन्थिन होला तर अब अग्ला १४ हिमालको आरोहण लक्ष्यमा हिंडेकी हुँ उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा जन्मिनुभएकी शर्मिला घरकी एक्ली पर्वतारोही हुनुहुन्छ । उहाँले २२ वर्षमै विवाह बन्धनमा बधिएर काखे छोरालाई छाडेर पनि सन् २०१८ मा सगरमाथा आरोहणमा लाग्नुभएको थियो तर सफल बनेन र २०१९ मे २२ मा सगरमाथाको चुचुरो चुमेरै छाड्नुभयो । त्यसपछि २०१९ अगस्ट १२ मा युरोपकै अग्लो हिमाल एल्ब्रस आरोहण गर्न सफलहुनुभयो । महिलालाई उत्प्रेरित गर्न ‘ओमेन क्यानक्यारी द वल्र्ड’ र ‘स्टप हृयुमेन ट्राफिकिङ’ सन्देश उहाँको छ ।
महिला सशक्तीकरणको संकल्प, महिलाहरुलाई आत्मनिर्भर बनाउन, जनचेतना फैलाउने परिवारबाटै बेचविखन हुने घटनाको अन्त्य गर्न हिमालको चुचुरोबाट आवाज उठाउने उहाँको लक्ष रहेको बताउनुभयो ।
सबै बिर्सिएर आठ हजार मिटर माथिको मृतक्षेत्र (डेथजोन)मा जाने आँट गर्नु आफैले आफैलाई जित्नु हो यो सानो आँटले पूरा गर्न नसकिने उहाँले भन्नुभयो ।
उहाँलाई आरोहण गर्ने अनुमती घर परिवारबाट अझै पनि मिलेको छैन । तर पनि चुचुरोको सफल आरोहणले आधा आकाश ढाकेको महिलाको सक्षमता र साहसलाई देखाउन सक्दा आफूमा गर्व महसुस भएको उहाँ बताउनुहुन्छ ।

पासाङ ल्हामु शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गरेपछि आरोहण क्षेत्रमा थप महिलाहरु थपिदै गएका छन् । हाल ४९ जना नेपाली महिलाले सगरमाथाको सफल आरोहण गरी सकेको पर्यटन विभागको तथ्याङ्क छ । संखुवासभाका लाक्पा शेर्पाले नौ पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राखेका छन् तर अन्नपूर्ण हिमालभने आजसम्म नेपाली महिलाले आरोहण गर्न सकेको छैन । आरोही सर्मिलालामा, माया शेर्पा, पासाङ ल्हामु शेर्पा (अकिता), दावायाङजुम शेर्पा, पूर्णिमा श्रेष्ठ, दावाफुटी शेर्पा यो वसन्त ऋतुमै अन्नपूर्ण आरोहण गरी कीर्तिमान कायम गर्ने लक्ष्यमा हिंडनुभएको छ ।

आफूले आफैलाई जित्नु पहिलो हिमाल आरोहण हो तब मात्र हिमालको चुचुरो पुग्न सकिने महिला आरोहीहरुको भनाइ छ । केही सकिँदैन भन्ने जस्ता बहानाले गर्दा महिला पछि परेको भन्दै आरोही लामाले सबै महिलाले सबै कामगर्न सक्ने हिम्मत राख्नुपर्ने  सुझाव दिनुभयो । १४ उच्च हिमाल आरोहणको लक्ष्य पूरा गर्न उहाँलाई अब नेपालका अन्नपूर्ण, धवलागिरि, कञ्चनजंघा, मकालु, चोयु र ल्होत्से, चीनको सिसापाङ्मा र पाकिस्तानको केटु, नांगा पर्वत रब्रोड पिक हिमाल बाँकी छन् ।