पर्यटन |

बन्दीपुरमा पाँच हजार पर्यटक

तनहुँ समाचारदाता

तनहुँ, वैशाख २ गते । नयाँ वर्ष मनाउन बन्दीपुरमा पर्यटकको लर्को लागेपछि बन्दीपुरका होटल भरिभराउ भएका छन् । कोरोना भाइरसको सङ्क्रमणले गर्दा लामो समय पर्यटकको मुख देख्न नपाएका होटलका सञ्चालक नेपाली नयाँ वर्षसँगै आन्तरिक पर्यटक भरिएपछि उत्साहित भएका हुन् ।
बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैस गुरुङले नयाँ वर्षमा एकै दिन पाँच हजारभन्दा धेरै पर्यटक आएकाले बन्दीपुरका होटल भरिभराउ भएको जानकारी दिनुभयो । नयाँ वर्षमा पर्यटक खचाखच भएर होटल बुक हुन थालेपछि उत्साहित बनेको उहाँले बताउनुभयो ।
नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमन हुन थालेपछि चहलपहल सुरु भएको छ । रात बस्ने आन्तरिक पर्यटक बढेकाले पूरै होटल भरिएको गुरुङ बताउनुहुन्छ । बन्दीपुरका अधिकांश होटलमा अहिले पर्यटक बसेका छन् । रेस्टुरेन्टमा खाजा खाने पर्यटक पनि छन् । टुँडीखेलस्थित हेरिटेज गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक सङ्गीता प्रधानले पर्यटक आउन थालेपछि व्यवसायले गति लिन थालेको जानकारी दिनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अनुसार बन्दीपुर साना र ठूला गरी ८० वटा होटल तथा रेस्टुरेन्ट छन् । नेवा गेस्ट हाउसका सञ्चालक क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपिन प्रधान सबैजसो होटल नयाँ वर्ष सुरु हुनु एक साता अगाडिदेखि बुक हुन थालेको बताउनुभयो । होटलबाहेक होमस्टे तथा पेइङ गेस्टसमेत गरी झन्डै साढे दुई हजार पर्यटकले रात बिताएको समितिले जनाएको छ ।
विदेशी पर्यटकको प्रमुख आकर्षक गन्तव्य बन्दै आइरहेको बन्दीपुरमा नेपाली पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने गरेका छन् । प्राचीन भक्तपुरे शैलीका घर यहाँका विशेषता हुन् । मुख्य बजारका होटल पुरानै भवनमा छन् । यसबाहेक बजारका आसपासमा आधुनिक घरमा समेत होटल छन् । यसका अलावा बजारका विभिन्न भागमा स्थानीय समुदायले बन्दीपुर सामुदायिक होम टेसमेत सञ्चालनमा ल्याएका छन् ।