पर्यटन | फोटो फिचर |

 सगरमाथा आधार शिविरमा माैसम खराब, आरोहण प्रभावित (फाेटाे फिचरसहित)

गाेरखापत्र अनलाइन 
काठमाडौँ, जेठ १३ गते । सगरमाथा आधार शिविरमा मौसम खराब हुँदा सगरमाथा आरोहण तालिका प्रभावित भएकाे छ ।  सगरमाथा आधार शिविरमा रहनु भएका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार अहिले मौसम खराब छ । आरोहीहरु चौथो शिविर पुगेर पुनः फर्किएका छन् उहाँले भन्नुभयो,‘केही दिनदेखि मौसम खराब छ, मौसम सुधारको पर्खाइमा चौथो शिविर पुगेका आरोहीहरु आधारशिविर र दोस्रो शिविरमा पुनः फर्केर आरोहणको पर्खाइमा बसिरहेका छन् ।’
आरोहण गर्न पुगेकाहरुलाई मौसम खराबी र बाटोमा हिउँ जमेकाले हिडडुलमा गर्न समास्या रहेको उहाँले बताउनु भयो,‘हिउँले बाटो देखिदैन पुरिएको छ, एक–दुई दिनमा मौसम खुल्ने सम्भवना छ ।’
सगरमाथा आधार शिविरमा हिजोदेखि लगातार हिमपात भएको छ । कयौं आरोहीहरु चौथौ शिविरमा पुगेर पनि तल फर्किएका छन् । कयौ आरोहीहरु आरोहण सम्पन्न गरेर पनि दोश्रो शिविरमा रहेका सरसामान तल आधारशिविरमा झार्न सकेका छैनन् । केहि आरोहीहरु आरोहण सम्पन्न गरि आधारशिविर आउने क्रममा घाइते हुन गएका र त्यहाँबाट तल झर्न हिँड्न नसक्ने अवस्थामा रहेका कारण हेलिकप्टर रेस्क्यु मगाई रहेको बताइएको छ ।
लुक्लादेखि आधारशिविरसम्म मौसम खराबका कारण हेलिकप्टरहरू आधारशिविरसम्म पुग्न सक्ने अवस्था नरहेको सम्पर्क अधिकृत गौतमले बताउनुभयो । उहाँले भन्नुभयो,‘मौसमले जो जहाँ छ त्यही छ हेलिकप्टर आउन सक्ने अवस्था छैन ।’ ‘केहि शेर्पाहरू माथिका टेन्ट उठाउन राती उकालो लागे पनि पहिलो शिविरमाथि भारी हिमपातका कारण त्यही रोकिएको र सबैलाई सचेत पूर्वक मौसम नसुध्रिएसम्मका लागि यथास्थितिमा रहन भनिरहेका छौँ’–गौतमले भन्नुभयो ।