पर्यटन |

कोरोनाले पर्यटकीय होटेलको तीस करोडभन्दा बढी लगानी जोखिममा

राजन रावत
हुम्ला, असार २५ गते । मानसरोवर कैलाश यात्राका लागि लक्षित गरेर निर्माण भई सञ्चालनमा आएका हिल्सा र सिमकोटका होटेलहरुको लगानी जोखिममा पर्ने देखिएको छ । ठुलो धनराशी लगानी गरी निर्माण गरि सञ्चालनमा आएका होेटेलहरु कोरोनाको कारण दुई वर्ष लगातार बन्द गर्नुपर्ने भएपछि व्यवसायी चिन्तामा पर्नुका साथै लगानी डुब्न लागेको हो ।
सिमकोटस्थित होटेल पोतलाका सञ्चालक भीमबहादुर लामाले दुई वर्ष लगातार होटेल बन्द गर्नु परेपछि निक्कै चिन्ता थपिएको जानकारी जानकारी दिनुभयो । उहाँले बैंकको ऋण र भएको सम्पती लगाती गरेर निर्माण गरि सञ्चालनमा आएको दुई वर्षमै होटेल बन्द गर्नुपरेपछि लगानी सबै डुबेको बताउनुभयो । यो सिजनमा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुले भरिभराउ हुने होटेलहरु बन्द गरेर बस्नुको विकल्प व्यवसायीसामु देखिएको छैन । हिल्सा र सिमकोटमा सञ्चालनमा आएका दुई दर्जनभन्दा बढी पर्यटकीय होटेलहरुको तीस करोडभन्दा बढी लगानी जोखिममा परेको होटेल व्यवसायी सङ्घका अध्यक्ष बहादुर लामाले बताउनुभयो । होटेल सञ्चालनमा नआएपछि बैंकबाट लिएको ऋण तिर्न पनि ब्यवसायीलाई सकस भएको छ । ठूलो लगानी गरेर सञ्चालनमा आएका सिमकोट र हिल्साका अधिकांश होटेल हाल बन्द रहेको र एक जना हेरालुको भरमा राख्नुपरिरहेको छ । यता हिल्साको मानसरोवर होटेलका मालिक कर्मा लामाले ठूलो लगानी गरेर सञ्चालनमा आएका होटेल कोरोनाले चौपट पारेको छ । होटेल व्यवसायी पेमा लामाले कोरोनाले चीनसँगको हिल्सा नाका बन्द भएपछि मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरु आउने कार्य बन्द हुँदा हिल्सामा हाेटेल कुरेर बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । बैंकको ऋणको ब्याज तिर्न पनि कठिन भएको होटेल व्यवसायीले बताउँदै आएका छन् । तत्काल अरु व्यवसाय पनि गर्न सम्भव नदेखिएकोले होटेललाई बन्द गर्नुको  विकल्प होटेल व्यवसायीमा देखिएको छैन । २०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट बर्षेनी दस हजारको सङ्ख्यामा भारतीय पर्यटक मानसरोवर कैलाशको यात्रा गर्न आउँदा हिल्सा सिमकोटमा पर्यटकीय होटेल व्यवसाय फस्टाउँदो क्रममा छ । होटेलमा व्यवसायीहरुले ठूलो लगानी  गर्नुभएको थियो ।