पर्यटन |

चल्न थाले फेवामा डुङ्गा

गण्डकी समाचारदाता

पोखरा, साउन ८ गते । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि बन्द गरिएका फेवातालका डुङ्गा चल्न थालेका छन् । कास्कीमा जारी गरिएको निषेधाज्ञाका कारण वैशाख १४ गतेदेखि बन्द गरिएका डुङ्गा सञ्चालन गर्न थालिएको हो ।
कोरोना सङ्क्रमणको पहिलो लहरका कारण २०७६ चैतदेखि २०७७ असोजसम्म पूर्ण रूपमा बन्द भएका डुङ्गा केही समय नियमित चले पनि फेवातालको बाँध मर्मत र पुनः दोस्रो चरणको कोरोनाका कारण बन्द हुन पुगेका थिए । आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने गरी जिल्ला प्रशासन कार्यालय लगायतसँगको अनुमति र समन्वयमा असार २६ गतेबाट डुङ्गा सञ्चालन गरिएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिनुभयो ।
फेवातालका विभिन्न आठवटा घाटमा सात सय बढी विभिन्न प्रकृतिका डुङ्गा छन् । अहिले पनि पर्यटकको सङ्ख्या न्यून भएको र फेवातालको बीचमा रहेको वाराही मन्दिरमा पूजाआजाका लागि खुला नभएकाले आलोपालो प्रणालीअन्तर्गत सीमित डुङ्गा सञ्चालन गरिएको नेपालीले बताउनुभयो । यात्रुलाई अनिवार्य मास्क लगाउनुपर्ने प्रावधान कायम गरी ठूलो डुङ्गामा चार जना र सानो डुङ्गामा तीन जना मात्र राखेर यात्रा गराइएको छ ।
अहिले पनि पर्यटन व्यवसाय ठप्प नै रहेकाले मन्दिरमा पूजाआजा नहुने भएपछि डुङ्गा सयर गर्नेको सङ्ख्या पनि कम हुने भए पनि यात्रुलाई मन्दिर घुमाएर ल्याउने गरी दैनिक १० वटासम्म डुङ्गा सञ्चालनमा रहेको नेपालीले भन्नुभयो । लामो समयको बन्दका कारण दैनिक गुजारामा समेत समस्या परेकामा डुङ्गा सञ्चालन हुँदा केही सहज भएको डुङ्गा चालकहरू बताउँछन् ।
कोरोना सङ्क्रमण फैलिए आफ्नो पेसा नै धरापमा पर्ने भएकाले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाएर डुङ्गा चलाउन आग्रह गरिएको समितिका अध्यक्ष नेपालीले बताउनुभयो । वाराही मन्दिर नजिकैको वाराही घाटमा मात्र तीन सयभन्दा बढी डुङ्गा भए पनि अहिले दैनिक १०–१२ वटा डुङ्गाले मात्र पालो पाएका छन् । पर्यटन क्षेत्रमा चहलपहल तथा मन्दिर नखुल्दासम्म यात्रु पाउन मुस्किल हुने भए पनि डुङ्गा सञ्चालन भएपछि केही उत्साह छाएको चालक रामु नेपालीले बताउनुभयो ।