पर्यटन |

पहुँचयोग्य छैनन् पर्यटन पूर्वाधार

 

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १० गते । नेपालका अधिकांश पर्यटकीय पूर्वाधार अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयोग्य नरहेको पाइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
अध्ययनले समेटेका देशका प्रमुख सहरका ९० वटा तारेहोटलमध्ये अधिकांश अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयोग्य नभएको देखाएको छ । यद्यपि अध्ययनमा सहभागी ९५ प्रतिशत होटल व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे आफूहरू जानकार रहे पनि त्यस किसिमका पूर्वाधार निर्माण गरी पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी बाधक रहेको जनाएका छन् ।
बुधबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले नेपालका अधिकांश होटलले व्यावसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचना दुर्गम स्थानमा रहेको, तिनमा अपाङ्गमैत्री सेवा सुविधासमेत नहुने गरेको र त्यस्ता अपायक स्थानमा अपाङ्गता भएका पाहुना पनि एकदमै कम जाने गरेको उल्लेख गरेको छ ।
अध्ययनले सरकारी विभाग र नीति निर्माताबीचमै पनि समावेशी सुलभ पर्यटनको अवधारणाबारे प्रस्ट जानकारी नरहेको देखाएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले सरकार, सरोकारवाला र होटल व्यवसायीले सहकार्य गरेर सुलभ पर्यटनको अवसरबाट फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले पर्यटनका सुविधा र अपाङ्गमैत्री पूर्वाधार बन्न वार्षिक १० हजारसम्म पर्यटक बढ्नसक्ने दाबी गर्नुभयो । होटल एसोसिएसन नेपालका अध्यक्ष सिर्जना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागि नयाँ प्रयोग हुने भए पनि यसबाट व्यवसायीले फाइदा लिन सक्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
यूएनडीपीका सहआवासीय प्रतिनिधि बर्नर्ड कोकोले कोरोना कहरले अर्थतन्त्र थिलोथिलो परेका बेला त्यसलाई पहिलेको ठाउँमा पु¥याउने तत्परतासँगै सुलभ पर्यटनको ढोका खोल्नेगरी अध्ययन अनुसन्धान हुनु सकारात्मक विषय भएको बताउनुभयो ।
पत्रकार गजेन्द्र बुढाथोकीले अर्थतन्त्र सकारात्मक बाटोमा जान पर्यटन विस्तार हुनुपर्ने र त्यसका लागि होटल तथा रेस्टुरेन्टमा अपाङ्गमैत्री पूर्वाधार हुनुपर्ने बताउनुभयो ।