पर्यटन |

बजेट कार्यान्वयन र गन्तव्य सुरक्षित छन् भन्ने सन्देश दिनु जरुरी

काठमाडौं, भदौ १० गते । दुई वर्ष यतादेखि कोरोना भाइरस (कोभिड–१९) महामारीले थलिएको पर्यटन क्षेत्रको सुधारका लागि अझै पनि कुनै योजना बन्न नसक्दा सुधारमा अन्येल जस्तै बनेको छ । देशकै अर्थतन्त्रको मुख्य आधार मानिने यस क्षेत्रको सुधारका लागि सरकारले प्रवर्धनात्मक कार्यक्रमहरु ल्याउन नसक्दा पुनः लयमा फर्कन अझै अन्याेल देखिएको छ ।
राष्ट्रिय अर्थतन्त्रको पहिलो प्राथमिकता पर्यटन क्षेत्रमा हुनुपर्ने र सोही अनुसारको कार्यक्रमहरु ल्याउन मन्त्रालयले पहल शुरु गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयमा मन्त्रीको अभाव र मन्त्रालयका कार्यक्रमहरु सरकारको प्राथमिकतामा नपरेका कारण तत्काल पर्यटन सुधारका नयाँ कार्यक्रमहरु आउन नसकेको उहाँले स्पष्ट पार्नुभयो । पर्वतीय पर्यटन, पदयात्रा, गतिविधिजन्य पर्यटनका लागि योजनाहरु गरी कार्यन्वयनमा ल्याउन मन्त्रालयले पहल थाले पनि काम अघि बडाउन नसक्दा अन्येल नै भएको उहाँले स्वीकार गर्नुभयो ।
मन्त्रालयको पहलमा सरकारले बजेटमा व्यवस्था गरेको विषयहरु कार्यन्वयनमा समेत आउन नसक्दा पर्यटन सुधारमा चुनौति थपिदै गएको व्यवसायीहरुको आरोप छ । यसै वर्षको बजेटमा विदेशी पर्यटकहरुलाई ३० दिनसम्मको भिसा शुल्कमा मिनाहा, पर्यटनसँग सम्बन्धित संस्थाहरुमा राजश्व र नविकरणमा छुटको व्यवस्था, कर्मचारीलाई १० दिनको पर्यटन काज, पर्यटन क्षेत्रमा हुने लगानीमा सहुलियत व्याजदर जस्ता कार्यक्रमहरु आर्थिक वर्षको दुई महिना बित्दासमेत कार्यन्वयनमा आउन नसक्दा पर्यटन क्षेत्र माथि चुनौती थपिदै गएको पर्यटन व्यवसायी टीकाराम गुरुङले बताउनुभयो । सरकारले ल्याएको मौद्रिक नीतिले समेत पर्यटन क्षेत्रसँग सम्वन्धित व्यवसायमाथिको कर्जा प्रवाहमा स्पष्ट व्यवस्था गर्न नसक्दा लगानी शून्य जस्तै हुने खतरा बढेको गुरुङको भनाइ छ ।
पर्यटकीय दृष्टिकोणले सम्भावनानै सम्भावना रहेकाले गतिविधिजन्य क्रियाकलापको आयोजना गरी पर्यटकलाई आकर्षित गर्ने गरी कार्यक्रमहरु ल्याएर पर्यटन व्यवसायलाई पुनः पहिलेकै अवस्थामा फर्काउनु पर्ने व्यवसायीहरुको सुझाव छ । पर्यपर्यटन, पर्वतीय पर्यटन, पदयात्रा तथा अन्य साहसिक खेलहरु नै विदेशी पर्यटकका लागि नेपाल आकर्षित बन्ने २५ औ पटक सगरमाथाको आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पाको सुझाव छ । पर्यटन क्षेत्रको सुधारका लागि हिमाल आरोहण र पदयात्रा मात्र नभएर साहसिक खेलहरु आइस हक्की, प्याराग्लाइडिङ, बञ्जिजम्प, स्की र ¥याफ्टिङका नयाँ प्याकेजहरु बनाएर प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्नुको विकल्प नभएको उहाँले सुझाव छ । आरोहण खुल्ला गरिएका ४०४ वटा हिमाल र पहिचान नभएका करिब तीन हजार बढी हिमाल नेपालमै भएकाले विश्वका नागरिकको अाकर्षण हुने गरेकाले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न योजना बनाए कुनै समस्या नहुने शेर्पाले बताउनुभयो ।

श्रीलङ्का, दुबई लगायतका देशले पर्यटन क्षेत्र सुधार गरिसकेको उदाहारण छ हामीले गर्न किन नसक्ने ? तर सरकारले व्यवसायी र निजी क्षेत्रलाई कार्यदिशा दिएर प्रवर्धनका कार्य गर्नुपर्ने होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष एवं पर्यटन व्यवसायी विनायक शाहले बताउनुभयो । सबै नागरिकलाई चाँडोभन्दा चाँडो खोपको व्यवस्था गर्नुपर्ने र मुख्यमुख्य पर्यटन क्षेत्रमा पूर्ण कोभिड खोप क्षेत्र घोषणा गरी त्यस क्षेत्रको क्रमस प्रवर्द्धन गर्दै जानुपर्छ तब मात्र सुधारका कार्यहरु शुरु हुँदै जानेछ उहाँले भन्नुभयो ।
पदयात्राका लागि नेपाल आउने पर्यटकहरुले अग्रीम बुकिङ गरेको तर १० दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था भएकाले बुकिङ रद्द गर्ने गरेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिनुभयो । महिना दिन पदयात्रामा आउने पर्यटक १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता हुँदा आउन नचाहने भएकाले सरकारले यो व्यवस्थालाई विश्वभर हटाएको सूचना दिनु मुख्य भएको उहाँले बताउनुभयो । नेपाललाई कालोसूचिमा राख्ने देशहरुसँग कुटनैतिक पहल गरेर पर्यटन गन्तव्यहरु सुरक्षित भएको सन्देश दिनुपर्छ र व्यवसायीहरुसँग सहकार्य गरेर प्रवर्द्धनका नयाँ प्याकेजहरु ल्याउन सरकार र मन्त्रालयले ढिलाइ गर्न नहुने सुझाव अध्यक्ष सुवेदीले दिनुभयो । हाल १८ सयभन्दा बढी कम्पनी र ५० हजार बढी पर्यटक मजदुर कामविहीन बनेको सुवेदीले बताउनुभयो । सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्राउने लक्ष राखी करोडौ रकम खर्चे पनि कोभिडका कारण त्यो कार्यक्रम सफल बन्न सकेन । हिमाल आरोहण गर्ने पर्यटकहरु बाहेक विगत दुई वर्षदेखि अन्य क्षेत्रका पर्यटकको सङ्ख्या शून्य जस्तै बनेको छ ।
निजी क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्ने सरकारले पर्यटन बोर्ड स्थापना गरे पनि प्रभावकारी रुपमा प्रवर्द्धनका कामहरु गर्न नसकेको व्यवसायीहरुको आरोप छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले भने प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँग सहकार्य गरेर खोप लगाएका मुख्यमुख्य पर्यटकीय गन्तव्य र शहरहरु पूर्ण रुपमा पर्यटकीय हिसाबले खुल्ला भएको घोषणा गर्ने तयारी गरेको बताउनुभयो । दुई वर्षअघि घोषणा गरिएका सय पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत बोर्डले थप योजना बनाएको उहाँले बताउनुभयो ।