पर्यटन |

तुम्लिङमा फसेका पर्यटकहरुको हेलिकोप्टरबाट उद्धार


राजन रावत
हुम्ला, कातिक ४ गते । टे«किङ सम्पन्न गरेर सिमकोट पैदल मार्गबाट फिर्ता हुन लागेको चार जना विदेशी पर्यटकसहित १२ जनाको टोलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । काठमाडौंबाट आएको एयर डाइनेष्टिकको हेलिकोप्टर तुम्लिङबाट टोलीको उद्धार गरेको हो ।
हिल्सा र लिमीको ट्रेकिङका लागि गएको चार जना स्लोभानियाका पर्यटकहरुसहितको टोली तुम्लिङ रोकिएका मध्य आठ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो ।

टोली आफ्नो टेकिङ सकाएर सिमकोट फिर्ता हुने तयारीमा तुम्लिङमा रहेकै बेला हिमपात सुरु भएपछि न्यालु लेकको बाटो बन्द हुँदा रोकिनुपरेको हो । हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमी क्षेत्रको तुम्लिङमा चार जना स्लोभानियाका नागरिकसहित १२ जना रोकिएको थियो । हेलिकोप्टरबाट उद्धार गरिएका मध्य विदेश नागरिकलाई आजै काठमाडौं लगिँदैछ ।

असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको टे«किङमा गएको उक्त टोली चार दिनयता न्यालु लेकमा बाक्लो हिमपात हुँदा उतै रोकिएको हो । टोलीमा चार जना स्लोभानियाका नागरिक, तीन जना टुरका गाईड, पाँच जना हुम्लाका स्थानीय र आठ वटा खच्चड तुम्लिङमा रोकिएका थिए । टे«किङ गदैै न्यालु लेकबाट पैदल मार्गबाट पर्यटकको टोली सिमकोट आउने कार्यक्रम थियो । न्यालुमा तीन फिटभन्दा बढी हिमपात हुँदा बाटो बन्द भएपछि टोली आउन नसकेको हो ।

तुम्लिङमा तीन चार वटा होटेल र चौरीका खर्कहरु उहाँहरु बस्दै आउनुभएको थियो । बुधवार टोलीको उद्धारका लागि हेलिकोप्टरको ब्यबस्थाका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखी पठाएको थियो । पाँच हजार मिटर अग्लो हिमाल चढ्नुपर्ने भएको कारण हेलिकोप्टरले दुई फ्लाइट गर्नुपरेको हो । तीनदिन लगातारको वर्षाले पाँच हजार मिटर अग्लो न्यालु लेकमा हिमपात हुँदा बाटो अवरुद्ध हुँदै आएको छ ।