मकालु क्षेत्रमा डेनिस पर्यटकको मृत्यु
काठमाडौं, कात्तिक ९ गते । मकालु आधारशिविर क्षेत्रको शेर्पेनीकोल पासमा एक डेनिस पर्यटकको मृत्यु भएको छ । कात्तिक ३ गतेदेखि अस्वस्थ भएका डेनिस नागरिक राहदानी नम्बर २०८८५२२६५ भएको हेनरिक थोर्वर्जोन एण्डरसोनको मृत्यु भएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी तर्कराज पाण्डेले जानकारी दिनुभयो ।
तीन जना पर्यटक र सात जना नेपालीसहित १० जनाको टोली असोज ३० गतेदेखि सम्पर्कविहीन भएको र त्यसपछि कात्तिक ७ गते सम्पर्कमा आएको उहाँले बताउनुभयो ।
आइतबार मकालु आधारशिविर फर्केर सुरक्षित स्थानमा रहेको जानकारी गराएपछि टोलीलाई हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । शेर्पेनीकोल पास गरेर ताप्लेजुङ क्षेत्र हुँदै पदयात्रामा निस्किएका पदयात्री टेलीलाई गत एक साता अघि भएको खराब मौसमका कारण समस्यामा परेको थियो ।
टप हिमालयन गाइड ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा निस्किएका अन्य दुई डेनिस नागरिक ओला थोर्वर्जोन एण्डरसोन र पिर हेनरिक जोर्गेनसेन सकुशल काठमाडौं ल्याइएको जनाएको छ ।