चाडबाडले सुनसान बने कुरीका होटल
बाबुराम शर्मा
चरीकोट, कात्तिक २० गते । सबैलाई शुभ दीपावलीको रमाइलो लागिरहेको बेला दोलखाको कालिञ्चोक कुरीका होटल व्यवसायी भने दुःखित बनेका छन् ।
कोराना महामारीपछि हप्ताको दुई दिन फाट्टफुट्ट आन्तरिक पर्यटक देखा पर्न थालेकै बेला दीपावलीका कारण पूरै बन्द भएकाले उनीहरु दुःखित बनेका होटल व्यवसायी यम पाख्रिनले गुनासो गर्नुभयो ।
शुक्रबार र शनिबार फाट्टफुट्ट आउन सुरु गरेका पर्यटकहरु पनि दशैँ र दीपावलीले बन्द भएपछि सुनसान बनेको छ कुरी उहाँले भन्नुभयो, कोरोनाले यो दुई वर्ष बन्दव्यापार पुरै बन्द गरिदियो । कोरानाभन्दा अघिल्ला वर्षहरुमा राम्रो कमाइ हुन्थ्यो । अहिले त बन्द व्यापार शून्य हुँदा भोकमारी व्यहोर्नुपरेको छ ।
वर्षा हुँदा र हिउँ देख्दा अतितका दिनहरु याद हुन्छन् । होटल व्यवसायी यम पाख्रिनले गुनासो पोख्दै भन्नुभयो, कुरी पर्यटकले भरिभराउ हुने गर्दथे । भ्याइ नभ्याई हुन्थ्यो यो बेला । हिउँदका करिब पाँच महिनाले वर्ष धानिन्थ्यो । एक दशक लामो होटल व्यवसायमा सुख्खा लागेको यी दुई वर्ष नै हो । अब पुरान दिन आउलान् त ? अरुको रमाइलो सम्झयो, बस्यो भइरहेछ ।
होटल व्यवसायी नवराज पाख्रिनको पनि उस्तै गुनासो छ । उहाँले भन्नुभयो,कोरानाले व्यवसायमा महामारी ल्याइदियो । पर्यटकको आगमन नहुँदा बिहान बेलुका हातमुख जोड्न धौधौ परेको छ । कमाइ छैन, खोले फाँडो खाने दिन आएको छ । खेतीपाती पनि छैन, बन्दव्यापार पनि शून्य भएपछि के खाएर बाँच्ने बचाउनेमा परिएको छ ।
अर्का होटल व्यवसायी नुर्बु तमाङ भन्नुहुन्छ, आप्mनो ६० वर्षे अनुभवमा यो नौलो र दुःखदायी अनुभव बटुलियो । धेर थोर व्यवसाय त हुने नै गर्दथ्यो तर यो दुई वर्ष त शून्य नै भयो । अब बाँच्न के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । कमाइ हुने सिजनमा पनि निरास भएर बस्नुपरेको छ ।