जुर्मुरायो चितवनमा पर्यटन
शालिग्राम नेपाल
चितवन, कात्तिक २४ गते । कोरोनाले शिथिल बनेको चितवनको पर्यटन क्षेत्र अहिले जुर्मुराउन थालेको छ । चितवनको सौराहा, पश्चिम चितवनको पटिहानी, मेघौलीमा अहिले पर्यटक भरिन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । दशैँको बिदाबाट आन्तरिक पर्यटक आउन थालेका चितवनमा अहिले त्यो क्रम नरोकिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो ।
“कोरोनाले होटल बेच्नपर्ने अवस्थामा आएको थियो, अहिले थोरै मात्रामा भए पनि राहत मिलेको छ,” भट्टराईले भन्नुभयो । दशैँदेखि तिहारसम्म चहलपहल भएको छ यो क्रम नरोकिए व्यवसाय राम्रो हुनेछ । एमालेको महाधिवेशनले पनि पर्यटनको आगमनमा ठूलो मद्दत मिल्ने आशा गरेका छौँ, उहाँले भन्नुभयो । “चार हजार ५०० व्यक्ति राख्न हामीलाई समस्या छैन । पार्टीले क्षमताबारे जानकारी मागेको छ, हामीले दिएका छौँ,” अध्यक्ष भट्टराइले भन्नुभयो, “चार हजार ५०० जना हामीले सजिलै राख्न सक्छौँ, यसमा कुनै समस्या छैन । ”
होटल व्यवसायी तथा क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले भन्नुभयो, “यस वर्षको चाडपर्वमा उत्साहजनक आन्तरिक पर्यटक सौराहा घुम्न आउनुभएको छ । परिवारसहित बस्न आउनुभएकाले पर्यटन क्षेत्रमा उत्साह छाएको छ । दशैँ तिहारको बिदा राम्रोसँग भरिएको थियो,” अहिले पनि परिवारसहित आउने क्रम जारी रहेको उहाँको भनाइ छ ।
नेकपा (एमाले)ले आयोजना गर्न लागेको महाधिवेशनले पनि चितवनको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पार्ने घिमिरेले बताउनुभयो । सौराहामा मात्र नभई जिल्लाका सबै पर्यटकीय क्षेत्रमा चहलपहल हुनेछ । यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको प्रचार र यहाँ आउने वातावरणसमेत बन्ने घिमिरेले बताउनुभयो । सौराहा र जिल्लाका पर्यटन व्यवसायी अहिले उत्साहित भएको उहाँले बताउनुभयो ।
सौराहाको सेभेन स्टार होटलका सञ्चालक माधव दुवाडीले यस वर्षको दशैँ तिहारमा विवाह, अन्य पार्टी कार्यक्रमले उत्साह छाएको बताउनुभयो । यस वर्ष होटलमा आएर विवाहका कार्यक्रम धेरै भए, सेमिनार पनि भए, परिवारसहित घुम्न आउनेको सङ्ख्या वृद्धि भएकाले उत्साह छाएको जानकारी दिनुभयो । एमालेको महाधिवेशनलाई लिएर होटल बुक हुन थालेको दवाडीले बत(ाउनुभयो । मङ्सिर ८ गतेदेखि नै होटल बुक हुन थालेको उहाँले जानकारी दिनुभयो ।