सगरमाथाको प्रवेशद्वार कटारीमा प्याराग्लाइडिङ् परीक्षण सफल
भोटराज राई
उदयपुर, पुस १२ गते । माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने साेलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ सञ्चालन गर्ने भएको छ ।
पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाइडिङको माध्यमबाट पनि पर्यटन प्रवर्द्धन गर्न लागिएको हो । त्यहाँ चार दिनअघि मात्र प्याराग्लाइडिङ्को सफल परीक्षण उडान गरियो ।
नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मिटरको उचाइबाट २५० मिटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाइडिङ्को परीक्षण गरिएको हो । सफल परिक्षणले पालिकाबासीलाई उत्साहित बनाएको छ । “हाम्रो परीक्षण सफल भयो” मेयर श्रेष्ठले भन्नुभयो “अब सम्बन्धित निकायबाट स्वीकृति लिएर व्यवसायिक ढङ्गले प्याराग्लाइडिङ सञ्चालन गर्ने सोच छ ।”
परीक्षणका क्रममा प्याराग्लाइडिङ उडानको अनुभव गरेका मेयर श्रेष्ठले कटारीलाई माथिबाट राम्ररी अवलोकन गर्न पाउनुभयोे । कटारी बजार क्षेत्रलाई सुन्दर सहर, आसपासको खोला–नदी, सडक सञ्जाल, सिमसार क्षेत्र, हरियाली बनपाखा र गाउँबस्तीको सुन्दर दृष्य देखिएको उहाँले बताउनुभयो । प्याराग्लाइडिङ एक शाहसिक काम भएको र उडेर नौलो अनुभूति गर्न पाएको उपमेयर भिमकुमारी राउतले बताउनुभयो ।
प्याराग्लाइडिङ्गका पाइलट दिलकुमार सुनुवारका अनुसार कटारी क्षेत्रमा प्याराग्लाइडिङ्गको सम्भावना राम्रो देखिएको छ । प्याराग्लाइडिङको लागि उपयुक्त वातावरण र भूगोल रहेको सुनुवारको भनाइ छ । द बाबु एडभेन्चर ईन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षकहरुले उडान भरेका हुन् ।
कटारीलाई हिमाली भेग र नजिकमा पर्ने जिल्लाहरु साेलुखुम्बुुु, ओखलढुङ्गा, खोटाङलगायतको मुख्य प्रवेशद्वार मानिन्छ । ती जिल्लाका पर्यटकीय गतिविधिसँग कटारीको सडक सम्बन्ध रहेको छ । यसै कारणले पनि पर्यटकहरुको आकर्षण र प्याराग्लाइडिङको व्यावसायिक सम्भावना त्यहाँ देखिएको छ ।
प्याराग्लाइडिङसँगै त्याहाँ जीपलाइन सञ्चालनका लागिसमेत परीक्षण सुरु गरिएको छ । गडी पर्यटन विकास समितिका अध्यक्ष सूर्य तामाङ्का अनुसार प्याराग्लाइडिङ्सँगै जीपलाइन पनि सञ्चालनका लागि परीक्षण सुरु भएको हो ।
उदयपुरको बेलका नगरपालिकामा पनि प्याराग्लाइडिङको सफल परीक्षणपछि बेलाबेला सञ्चालन भइरहेको छ । रौतामाई गाउँपालिकाले पनि प्याराग्लाइडिङ परीक्षण गर्ने जनाएको छ ।