तस्बिरमा ताप्लेजुङको तिम्बुङ पोखरी
चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको पर्यटकीयस्थल तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक बढ्दै गएका छन् । धार्मिक दृष्टिकोणले समेत प्रख्यात सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित तिम्बुङ पोखरीमा यसवर्षदेखि पर्यटक बढ्दै गएका हुन् ।
ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्र तथा छिमेकी देश भारतको सिक्किमसँग सीमा नजिक रहेको तिम्बुङ पोखरीमा विगतका वर्षमा पर्यटक जाने गरेका थिए । विगतको तुलनामा यसवर्ष उल्लेख्य तीर्थालु तथा पर्यटक तिम्बुङ पोखरीमा गएका बताइएको छ ।
पछिल्लो समय प्रचार–प्रसारको पहुँच वृद्धि साथै पदमार्ग स्तरोन्नति लगायतका पूर्वाधार निर्माण गर्न थालिएकाले तिम्बुङ पोखरी भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएका सिदिङ्वा गाउँपालिकाका प्रवक्ता प्रकाश राई (कैलास) ले जानकारी दिनुभयो ।
समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रहेको तिम्बुङ पोखरीको दर्शन साथै यस क्षेत्रको अवलोकन भ्रमणमा जाने पर्यटकको सङ्ख्या ह्वात्तै वृद्धि भएका प्रवक्ता राईले बताउनुभयो । उहाँका अनुसार हाल स्थानीय तहसहित प्रदेश तथा सङ्घीय सरकारको पर्यटन लक्षित योजनामार्फत तिम्बुङ पोखरीको पदमार्ग स्तरोन्नति गरिएको छ ।
यस्तै ठाउँ–ठाउँमा विश्रामस्थल, तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस)जस्ता पूर्वाधार निर्माणले पर्यटन यात्रा सहज भएको र भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्न थालेको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङको भनाइ छ । तिम्बुङ पोखरीको सौन्दर्यीकरण लगायतको कार्यले पनि यस क्षेत्रको भ्रमणका लागि पर्यटकलाई आकर्षित गराएको ताम्लिङ बताउनुहुन्छ ।
दुई वर्षअघि तिम्बुङ पोखरीलाई पर्यटकीय गन्तव्यमा सूचीकृत गरिएसँगै यस क्षेत्रको विकास गर्न तीनवटै सरकारको योजना कार्यान्वयन हुन थालेपछि जिल्लाको एक आकर्षक तथा मुख्य पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाको भनाइ छ ।
यसरी पूर्वको गोसाइकुण्डले परिचित तिम्बुङ पोखरी क्षेत्र एक प्रमुख पर्यटकीय स्थलको रुपमा विकास तथा स्थापित हुनेमा सिङ्गो सिदिङ्वाबासी, यहाँका सरोकारवाला ढुक्क छन् । तिम्बुङ पोखरी क्षेत्रको भ्रमण गर्ने पर्यटकका लागि यहाँको सुन्दर तथा आकर्षक मनमोहक ठाउँमा रहेको पोखरीसँगै जडीबुटी, चौंरीपालन, भेडापालन, रेडपान्डा लगायतको अध्ययन अवलोकन गर्न सकिने अवस्था छ ।
यसवर्ष राजधानी काठमाडौं, पश्चिम नेपालको पोखरालगायतबाट आन्तरिक पर्यटक आएका छन् भने भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट समेत उल्लेख्य रुपमा पर्यटक आएको स्थानीयले बताएका छन् ।