३३ प्रतिशतले घटे पर्यटक
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १९ गते । हवाई मार्ग हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या घटेको छ ।अध्यागमन विभागले सार्वजनिक गरेको विदेशी पर्यटक आगमनको तथ्याङ्कअनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा त्यस्ता पर्यटकको सङ्ख्या करिब ८० हजारले घटेको हो अर्थात् सन् २०२० को तुलनामा सन् २०२१ मा हवाई मार्गबाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या ३३.४ प्रतिशतले घटेको हो ।
सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटक नेपाल आएका थिए । दक्षिण एसियाली देशबाहेकका एसियाली देशबाट आउने पर्यटकको सङ्ख्यामा व्यापक गिरावट भएपछि समग्र पर्यटकको सङ्ख्या घटेको हो । ती देशबाट सन् २०२० मा ८० हजार ५८४ पर्यटक भित्रिएकामा सन् २०२१ मा नौ हजार ८२४ जना मात्र भित्रिएका छन् । यो करिब ८८ प्रतिशतको गिरावट हो ।
मुख्यगरी चीन, जापान, मलेसिया, सिङ्गापुर, दक्षिण कोरिया, ताइपेइ, म्यानमार र थाइल्यान्ड ती एसियाली देशमा पर्छन् । म्यानमार, थाइल्यान्ड र चीनबाट भित्रिने पर्यटक सबैभन्दा धेरै घटेको देखिन्छ । सन् २०२१ मा म्यानमारबाट ३४४, थाइल्यान्डबाट ५७६ र चीनबाट छ हजार १९६ पर्यटक भित्रिएका छन् । सन् २०२० मा यी देशबाट क्रमशः २० हजार ९११, २० हजार ७७८ र १९ हजार २५७ पर्यटक भित्रिएका थिए ।
युरोपबाट भित्रिने पर्यटकको सङ्ख्या पनि घटेको छ । तथ्याङ्कमा समेटिएका १६ वटा युरोपेली देशबाट सन् २०२० मा ३७ हजार २१० जना भित्रिएका थिए । सन् २०२१ मा भने यी देशबाट २५ हजार ३०५ जना भित्रिएका छन् । समीक्षा अवधिमा सबैभन्दा धेरै बेलायतबाट आउने पर्यटकको सङ्ख्या घटेको छ । बेलायतबाट सन् २०२० मा ११ हजार ७६२ जना विदेशी भित्रिएकामा सन् २०२१ मा आठ हजार ६८० जना भित्रिएका छन् ।
यस्तै ओसियना क्षेत्रअन्तर्गतका अष्ट्रेलिया र न्युजिल्यान्डबाट भित्रिने पर्यटकको सङ्ख्या पनि व्यापक घटेको छ । सन् २०२० मा यी देशबाट सात हजार ५०० पर्यटक भित्रिएकामा सन् २०२१ मा दुई हजार ५७१ जना भित्रिएका छन् । यसमध्ये अस्टे«लियाबाट छ हजार ७९३ पर्यटक भित्रिएकामा सन् २०२१ मा दुई हजार ४७५ जना पर्यटक मात्र भित्रिएका छन् ।
सार्क मुलुकबाट वृद्धि
सार्क क्षेत्रबाट भित्रिने पर्यटकको सङ्ख्यामा भने वृद्धि देखिएको छ । सन् २०२० मा यस क्षेत्रबाट ६१ हजार ७७९ पर्यटक आएकामा सन् २०२१ मा ७१ हजार ६१० जना भित्रिएका छन् । सार्क मुलुकमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट सन् २०२१ मा ६४ हजार ६७३ जना पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ मा कुनै एउटा देशबाट आएका पर्यटकमध्ये सबैभन्दा धेरै पनि हो ।
अमेरिकी क्षेत्रमा पर्ने संयुक्त राज्य अमेरिका र क्यानडाबाट भित्रिने पर्यटकको कुल सङ्ख्या बढेको छ तर क्यानडेली पर्यटकको सङ्ख्या भने घटेको छ । संयुक्त राज्य अमेरिकाबाट सन् २०२० मा १७ हजार ७७६ जना पर्यटक भित्रिएकामा सन् २०२१ मा २२ हजार ८५३ जना भित्रिएका छन् तर क्यानडाबाट भने तीन हजार १०२ जना पर्यटक आएकामा सन् २०२१ मा दुई हजार ४३८ जना पर्यटक मात्र आएका छन् ।
‘पर्यटक आगमन सुधारोन्मुख’
मणि लामिछाने
निर्देशक
नेपाल पर्यटन बोर्ड
सङ्ख्यात्मक रूपमा घटेको देखिए पनि सन् २०२० को तुलनामा सन् २०२१ मा पर्यटक आगमन सुधारोन्मुख नै देखिएको छ । यसका केही कारण छन् । सन् २०२० को जनवरी, फेबु्रअरी र मार्चमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या त्यसअघिको निरन्तरताजस्तै थियो अर्थात् त्यतिबेला कोरोना सङ्क्रमणको असर पर्यटक आगमनमा परेको थिएन ।
अप्रिलदेखि जारी लकडाउनपछि मात्र पर्यटक आगमनको सङ्ख्या घटेको हो । कोभिडको असर नपरेका महिनामा सामान्य अवस्थामा जस्तै पर्यटक भित्रिएका कारण सन् २०२० को तथ्याङ्क धेरै देखिएको हो तर सन् २०२१ मा कोभिडको दोस्रो लहरसमेत झेल्नुपरे पनि पर्यटक आगमनको सङ्ख्या भने निरन्तर बढिरहेको देखिन्छ ।
सन् २०२० को कोभिडको प्रभाव रहेका महिना र सन् २०२१ को तुलना गर्दा सन् २०२१ मा पर्यटक १२ प्रतिशतले बढेको देखिन्छ । त्यसैले सङ्ख्यात्मक रूपमा सन् २०२० मा पर्यटकको सङ्ख्या बढी देखिए पनि कोरोनाको सबैभन्दा असर बेहोर्नुपरेको सन् २०२१ मा पर्यटक आगमनको सङ्ख्या उत्साहजनक देखिन्छ ।