पर्यटन |

पर्यटक आगमनमा सुखद सुरूवात

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २१ गते । अङ्गे्रजी नयाँ वर्ष सन् २०२२ को सुरुवाती महिनामै नेपाल भित्रने पर्यटकको सङ्ख्या उल्लेख्य सुधार आएको छ । अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार वर्षको पहिलो महिना अर्थात् जनवरीमा मात्रै १६ हजार ९७५ पर्यटक नेपाल आएका छन् । कोभिड–१९ महामारीको तेस्रो लहर उचाइमा रहेको अवस्थामा पनि अघिल्लो जनवरीको तुलनामा ९० प्रतिशतभन्दा बढी पर्यटक नेपाल आएका हुन् । गत जनवरीमा आठ हजार ८७४ पर्यटक नेपाल भित्रिएका थिए ।

जनवरीमा नेपालका प्रमुख पर्यटकीय बजार भारत, संयुक्त राज्य अमेरिका, बेलायतजस्ता देशबाट गत वर्षको तुलनामा धेरै पर्यटक आएको तथ्याङ्कले देखाउँछ । भारतबाट जनवरीमा सबैभन्दा धेरै तीन हजार ९१६ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो जनवरीको तुलनामा केही कम भए पनि कुनै एउटा देशबाट नेपाल भित्रनेमा भने सर्वाधिक हो । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट तीन हजार २५७ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो जनवरीमा अमेरिकाबाट ८७४ जना आएकामा यस वर्ष त्यहाँबाट नेपाल आउने पर्यटकमा व्यापक सुधार देखिएको हो । त्यसपछि बेलायतबाट एक हजार ८२४ जना नेपाल आएको तथ्याङ्कले देखाउँछ । अघिल्लो जनवरीमा बेलायतबाट १३६ पर्यटक नेपाल आएका थिए ।

क्षेत्रीय हिसाबले सार्क राष्ट्रबाट सबैभन्दा धेरै पाँच हजार ५०१ पर्यटक नेपाल आएका छन् । भारतपछि बङ्गलादेशबाट जनवरीमा एक हजार २३६ जना नेपाल आएको तथ्याङ्कमा उल्लेख छ । सार्कबाहेक अन्य एसियाली मुलुकबाट एक हजार ११४ जना नेपाल आएको तथ्याङ्क छ । नेपालको प्रमुख पर्यटकीय बजार मानिने चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्या भने धेरै घटेको छ । जनवरीमा चीनबाट ३२१ पर्यटक नेपाल आएको देखिन्छ । जब कि अघिल्लो जनवरीमा एक हजार ८७७ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिड सङ्क्रमणका कारण हवाई उडानमा प्रतिबन्ध लगाएकाले पनि चीनबाट नेपाल आउने पर्यटक कम देखिएको हो । यसबाहेक जापान, मलेसिया, सिङ्गापुर, म्यानमारजस्ता एसियाली देशबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा सुधार आए पनि त्यो ठूलो सङ्ख्यामा भने छैन ।

बेलायतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य सुधार हुँदा समग्र युरोपबाट नेपाल आउने पर्यटकको सङ्ख्या धेरै बढेको छ । जनवरीमा मात्रै युरोपबाट तीन हजार ५२७ जना नेपाल आएका छन् । अघिल्लो जनवरीमा केवल ७११ जना पर्यटक उक्त महादेशबाट नेपाल आएका थिए । ओसियाना क्षेत्रमा पर्ने अस्टे«लिया र न्युजिल्यान्ड भित्रने पर्यटकको सङ्ख्या व्यापक बढ्दा पनि जनवरीमा पर्यटक आगमन सुधार देखिएको छ । गत जनवरीमा यी दुई देशबाट केवल ६९ जना पर्यटक भित्रिएकामा यसपटक एक हजार २४० जना नेपाल आएको तथ्याङ्कमा उल्लेख छ । अमेरिकी मुलुकमध्येको क्यानडाबाट नेपाल आउने पर्यटकको सङ्ख्या पनि सुध्रिएर ३६१ पुगेको छ । उल्लेखित पर्यटकको सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिनेको मात्र हो । पर्यटकका लागि अन्य सीमा नाका बन्द रहेकाले त्यो सङ्ख्या कुल पर्यटक आगमनमा समावेश छैन ।