पर्यटन |

जगदीशपुर ताल चराको पर्यटनक्षेत्र

दीपक अनुरागी

दक्षिण एसियाकै पहिलो मानवनिर्मित ताल मानिएको ‘जगदीशपुर ताल’ चराका लागि स्वर्गीय थलो मानिन्छ । १५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल परिसर वर्षौंदेखि सुकेका रुख, घाँसपात, झाडी र पातपतिङ्गरले कुरूप देखिन थाल्दा पनि सम्बन्धित निकायबाट चासो नदेखाउँदा माल पाएर पनि चाल पाउन नसकेको जस्तो अनुभव अवलोकनमा आउनेले गर्न थालेका छन् । यहाँ आइपुग्ने बाटो हिलाम्मे र धुलाम्मे हुनु त यहाँको पहिचानजस्तै बनेको छ । तौलिहवा हुँदै आउने बाटो पक्की भए पनि बाटो वरपर खोलिएका गिट्टी, बालुवा उत्खनन तथा प्रशोधन उद्योगले वातावरण प्रदूषित बनेको छ ।

देशभित्र र विदेशबाट आउने हजारौँ पाहुना चराले तालको रौनक बढाउने गरेका छन् । तालभित्र र आसपासको वातावरण हेर्दा लाग्छ, यसको संरक्षणमा छुट्न ढिला हुँदै गएको छ । तालको सरसफाइ र समग्र विकासमा सरोकारवाला निकायको सोचेजस्तो ध्यान नपुग्दा महिनामै हुनसक्ने लाखौँ आम्दानीसमेत गुमिरहेको छ । कपिलवस्तुको निग्लिहवास्थित यो ताल पुग्ने पर्यटकलाई पनि खान बस्नको उचित प्रबन्ध छैन । ताल वरिपरि पैदल हिँड्ने वा मोटरसाइकल गुडाउने अवस्था सहज छैन । तालका बारेमा सुनेर आउने जो कोही पनि नाक खुम्च्याउँदै फर्किने अवस्था बन्नु स्थानीय सरकारका लागि पनि लाजमर्दो विषय बनेका छ ।

“दक्षिण एसियाकै ठूलो मानवनिर्मित ताल निकै चित्ताकर्षक होला भनेर आएको मनै खिन्न भयो, सोचेको एकछेउ पनि पाइनँ, ताल मात्रै ठूलो भएर के गर्नु !” कपिलवस्तुको वाणगङ्गाबाट साथीसहित आएका प्रकाश विष्टले दुःखेसो पोख्नुभयो । ताल वरपरको वातारण, तालभित्रको झाँडीले मन रोएको उहाँले बताउनुभयो । “कम्तीमा देशकै प्रमुख पर्यटकीय स्थल बन्ने तालको संरक्षणमा राज्य उदासीन भएकै हो, यसमा लगानी गर्न पर्यटकसँग लिइने शुल्कले मात्रै पनि पुग्थ्यो तर किन माल पाएर पनि चाल नपाएजस्तो देखिएको छ सरकार ?”, विष्टले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकारले जगदीशपुर ताललाई प्रमुख गन्तव्यको सूचीमा समेत राखेर विकास गर्ने भनेको थियो तर सरकारले भनेजस्तो काम हुन सकेन । यति मात्र होइन, केपी ओली नेतृत्वको सङ्घीय सरकारले सार्वजनिक गरेको ‘एक सय एक पर्यटकीय गन्तव्य’को सूचीमा पनि यो ताल परेको थियो तर उक्त सूची कागजमा मात्र सीमित हुन पुग्यो ।

“जगदीशपुर ताल पोखराका कुनै तालभन्दा पनि कमको रहेनछ तर पूर्वाधार विकास नहुँदा एसियाकै महìवको विषय भएर पनि दशकौँदेखि ओझेलमा छ,” रुपन्देहीबाट आएकी आन्तरिक पर्यटन करिमा केसीले भन्नुभयो । खासगरी बाह्य पर्यटक खानपिन गर्दै तालको सौन्दर्यमा रमाउन चाहने भएकाले उनीहरूलाई रात बस्ने गरी व्यवस्थित होटल खेल्न सके विश्वकै गन्तव्यस्थल बन्नसक्ने धेरैको भनाइ छ ।

नेपालभन्दा बाहिरका चराको गन्तव्य स्थल हुन थालेपछि सन् २००३ मै ‘विश्व रामसार सूची’मा जगदीशपुर ताल सूचीकृत भएको थियो । तालमा ११८ भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने पन्छी संरक्षण सङ्घले बताउँदै आएको छ । जगदीशपुर ताल दुर्लभ र सङ्कटापन्न अवस्थाका चराको घर हो । यहाँ साइबेरियाबाट समेत चिसो छल्न चरा आउने गरेका छन् । यो तालमा हरेक वर्ष विश्वमै लोपोन्मुख मानिएका चरासमेत आउने भएकाले यो आफैँमा चराको महत्त्वपूर्ण थलोका रूपमा विकास हुँदै गएको छ ।

तालमा पेकिङ डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानीहाँस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुडजस्ता लोपोन्मुख चरा आउने गर्छन् । विदेशी भूमिबाट धेरै चरा आउने यो क्षेत्र नेपालकै सबैभन्दा धेरै चरा आउने सिमसार क्षेत्रका रूपमा समेत चिनिने गर्छ । अहिले रहेका कुल १० सिमसार क्षेत्रमध्येको एक महत्त्वपूर्ण यो पनि हो । कात्तिक महिनाको अन्तिमदेखि फागुन महिनाको अन्तिमसम्मको समयमा चिसो छल्न आएका विदेशी चरा नै यहाँका मुख्य आकर्षणका केन्द्र हुन् ।

यसै तालको छेउमा छ, एउटा ऐतिहासिक स्थल सगरहवा । बुद्धको शासनकालमा नै कोशलका राजा प्रसेनजितका छोरा बिरुधकले तत्कालीन शाक्य वंशको विध्वंस गराएको सम्झनामा संरक्षण गरेर राखिएको छ– सगरहवाको बीचमा रहेको लम्बु सागर । जगदीशपुर तालमा आएका पर्यटक चराको स्वाद फेर्ने सहायक पोखरी हो यो । यसबाहेक अन्य साना पोखरी, नजिकै रहेको वाणगङ्गा नदी पनि पाहुना चराको आहाराको केन्द्र बनेको छ ।

विश्वमै लोप हुने अवस्थामा पुगेका सानो खैरो गिद्ध, सुन गिद्ध र डङ्गर गिद्ध पनि यस क्षेत्रमा देख्न सकिने चराविद् बताउँछन् । तालमा साइबेरिया, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्कमेनिस्तान र कीर्गिस्तानलगायतका देशबाट चरा आउने गरेको चराविद्को भनाइ छ । उनीहरूका अनुसार यो ताल चराको अलावा विभिन्न जातका माछा, उभयचर, स्तनधारी जीव र कीटपतङ्ग क्षेत्र पनि हो ।

गौतम बुद्धले २९ वर्ष बिताएको शुद्धोधनको दरबार रहेको तिलौराकोटबाट झन्डै सात किलोमिटरको दूरीमा पर्छ जगदीशपुर ताल । पहिलो कुरा त तिलौराकोट नै पर्यटकको नजरमा पर्न सकेको छैन । भारत हुँदै आएका केही म्यानमार, थाइल्यान्डजस्ता देशका पर्यटकको धेरै आवागमन हुने तिलौराकोटबाट ती पर्यटक जगदीशपुर तालसम्म जाने गरेका छैनन् । त्यसैले उचित प्रचार–प्रसार र सहज रूपमा यात्राको बन्दोबस्त गर्न सकेको खण्डमा तिलौराकोट आउने पर्यटकलाई जगदीशपुर ताल लैजान सकिने सरोकारवालाको बुझाइ छ ।

जगदीशपुर ताल वरिपरि देखिने चराको चहलपहलले मनमा अलौकिक शान्ति दिन्छ । आध्यात्मिक शान्तिलाई सुनमा सुगन्ध भरिएजस्तै मानिन्छ । जुन भूमिबाट राजकुमार सिद्धार्थ गौतम मध्यरातमा पत्नी यशोधरा र पुत्र राहुललाई छाडेर ज्ञानको खोजीमा निस्किए, त्यो भूमिमा अव्यक्त ओज महसुस हुन्छ । तालको जल सतह घटेमा नजिकैका वाणगङ्गा र कोइली नदीबाट पानी प्रवाह गरिन्छ । नदी र नहर पनि छेउमै भएकाले ताल आसपासको पूरै क्षेत्र सीमसारझैँ लाग्छ । यहाँ चरा अवलोकनका लागि सानो भ्यू–टावर भने बनाइएको छ । टिकटक बनाउने, सेल्फी खिच्ने र चरा हेरेर रमाउनेका लागि यो क्षेत्र आकर्षक गन्तव्य हो । तालमा केही वर्षयतादेखि डुङ्गा सञ्चालनमा ल्याइएको छ ।

यस क्षेत्रमा पहिलो पटक थारू समुदायले होमस्टे सुरु गरेका थिए । गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदीशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई ध्यानमा राख्दै होमस्टे सञ्चालनमा ल्याइएको थियो । यसको यथेष्ट प्रचार–प्रसार पनि हुन सकेको छैन भने होमस्टेको विकास सोचेजस्तो भएको छैन । आर्थिक अभावका कारण होमस्टे बन्द गर्ने अवस्थामा पुगेको सञ्चालक बताउँछन् ।

तालक्षेत्र आसपास अहिले पनि गौचरन कायमै छ । यहाँका सर्वसाधारणका लागि खेल मैदान, घाँसे भूमि तथा गाईबस्तुको चरनस्थल यो ताल भएको छ । पहिले २१५ हेक्टर क्षेत्रफलमा फैलिएको ताल क्षेत्रमा यतिबेला १५७ हेक्टर क्षेत्रफल मात्र पानीको सहत रहेको छ ।
प्रदेश सभा सदस्य विष्णु पन्थीले जगदीशपुर ताललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउँदै ताल आसपासमा चौडा बाटाघाटा आवश्यक रहेको बताउनुभयो । “जगदीशपुर असाध्यै राम्रो पर्यटकीय गन्तव्य हुने ठाउँ हो, यसको विकासमा सरकारको ध्यान जानुपर्छ,” सांसद पन्थी भन्नुहुन्छ । गुरुयोजना बनाएर काम गरे मात्र ताल व्यवस्थित हुने भन्दै यसतर्फ ध्यान पु-याउन आफूले पनि सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।