पर्यटन |

मनमोहक दोलखाको चम्पूजापार्क


बाबुराम शर्मा
चरीकोट, फागुन ७ गते । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको समीप र नेपालको समयमापन बिन्दुका रुपमा रहेको गौरीशङ्कर हिमालको काखमा सुन्दर उद्यान देखेपछि मोहित नहुने सायदै कमै होलान् ।

पछिल्लो समयमा भीमेश्वर नगरपालिका–२ एतिहासिक सहर दोलखास्थित चम्पूजा उद्यानले आफूलाई थप सुन्दर बनाएर सबैलाई आकर्षित गरिरहेको छ । मन्दिर दर्शनका लागि दोलखा बजार पुग्नेहरु पार्कमा गएर त्यसलाई नजिकबाट नियाल्दै, लुकामारी खेल्दै, गौरीशङ्कर हिमालको हाँसो देखेर मुस्कुराउँछन् । शान्त र सुन्दर उद्यानमा रमाउन चाहनेहरुको रोजाइमा पर्न थालेको छ –चम्पूजा पार्क ।

चरिकोट बजारबाट करिब २० मिनेटमा मोटरको यात्रापछि दोलखा बजार पुगिन्छ । भीमेश्वर मन्दिरबाट केही तल उद्यान रहेको छ । सो मन्दिरदेखि पार्कसम्म ओरालो भएकाले खुट्किलासहितको पक्की पैदल बाटो निर्माण गरिएको छ । बाटोमा दुबैतर्फ फलामे रेलिङ छन् । रेलिङमा लहरै घण्टा झुन्ड्याइएको छ । त्यो बाटो हुँदै गएपछि केहीबेरमै आकर्षक प्रवेशद्वारले पाहुनाको स्वागत गर्छ । पार्क प्रवेश गरेपछि त्यहाँको वातावरणको सामीप्यमा रमाउँदा समय बितेको पत्तो हुँदैन ।

पार्कमा फूलबारी, धूपीको रुखले मनै फुरुङ्ग पार्छ । बालबालिकाको लागि खेल्न पिङ हालिएको छ । पार्ककोबीच भागमा सानो पोखरीको बीच शिवजीको मूर्ति प्रतिस्थापन गरिएको छ । शिवाजीको टाउकोबाट जल धारो बग्छ । वरिपरि बस्ने ठाउँ निर्माण गरिएको छ । पार्कको अन्तिम विन्दुमा चट्टान मिलेर बसेको छ । मौसम खुलेको बेला चट्टानमाथि बसेर हेर्दा हिमाल हाँसिरहेको र तामाकोशी नदी बगिरहेको देख्न सकिन्छ ।

चट्टान मुनि गुफा रहेको छ । गुफाले अझ महत्वपूर्ण र रमणीय बनेको छ –उद्यान । पछिल्लो समय पार्कमा मनोरञ्जन लिनेहरुको संख्या बढ्न थालेको छ । भीमेश्वर मन्दिर नजिकै रहेकाले मन्दिर आउने दर्शनार्थीहरु दर्शन गरी पार्कमा जान थालेपछि चहलपहल बढेको छ । शनिबार पार्कमा भेटिनु भएका स्थानीय सन्जित तामाङले विषेश गरी बालबालिकाका लागि उद्यान बनाइएको भए पनि यसमा रमाउन आउनेहरु लक्षित समूह बाहेकका भन्दा अन्य समूह धेरै हुने गरेको बताउनुभयो ।

मन्दिर दर्शनका लागि आएका व्यक्तिहरु पार्कमा पनि पुग्छन् । दैनिक २०–२५ जना पार्कमा पुग्ने गरेका छन् । सबै उमेर समूहका व्यक्तिका लागि रमाउने उत्कृष्ट गन्तव्यको रुपमा सो उद्यान रहेकाले सबैलाई समय मिलाएर एकपटक आउन निम्तो गरिदिन उहाँले अनुरोध गर्नुभयो ।

पार्कमा आएर खुसी लिएर फर्कनुहोस् भन्दै उहाँले भन्नुभयो, ‘गुफा सहितको पार्कमा रम्नुको मज्जा छुट्टै हुन्छ । कामको चाप, भीड र कोलाहलबाट निस्किएर केही छिनका लागि घुमेर रमाउनको लागि पार्क उपयुक्त थलो बनेको छ ।’

सानुकान्छा श्रेष्ठले भन्नुभयो, ‘थकान, निरास र दिक्दार अवस्थामा पार्क आए हुन्छ । यसको सुन्दरतालाई हेरेर मनलाई केही बेर खुसी बनाउँछ । पार्कमा सुविधा सम्पन्न पिकनिकस्थल, शौचालय, खानेपानी आदिको पनि सुविधा उपलब्ध छ ।’

चम्पूजा पार्कलाई व्यवस्थित र संरक्षण गर्ने कार्यमा स्थानीय सरकारको ध्यान केन्द्रित भएको छ । वडा नम्बर २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जङ्गल जस्तो स्थललाई पार्क निर्माण गरिएको र थप संरचना निर्माण गरी सुन्दर तथा व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताउनुभयो ।

पछिल्लो समयमा घुमफिरका पारखीहरुले पार्क भरिभराउ हुँदा अझ सुन्दर बनाउन आफूहरुलाई जोस र हौसला मिलेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘यो उद्यान नेवार समुदायको बीचमा रहेकाले पार्कमै नेवारी परिकार बनाएर पाहुनालाई खुवाउने सुविधा थप्ने योजना छ । त्यसैगरी अन्य संरचना थपेर मनमोहक बनाउन हामी लागिपरेका छौँ ।’