स्वास्थ्य मापदण्ड खुकुलो बनाउने सिफारिस निर्णय नहुँदा पर्यटक मर्कामा
काठमाडौं, फागुन १३ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणदर घट्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) सभासम्मेलन आयोजना र पीसीआर जाँचबारे नयाँ निर्णय गरेको छ । सङ्क्रमण रोकथामका लागि यसअघि गरिएका पुराना कडा व्यवस्थालाई सरल र सहज हुने गरी निर्णय गरी कार्यन्वयनका लागि सरकार समक्ष सिफारिस गरेको छ ।
सीसीएमसीसीले सभासम्मेलन गर्दा क्षमताको ५० प्रतिशत मानिस मात्र उपस्थिति हुनुपर्ने प्रावधान हटाएर पूर्ण क्षमतामा आयोजनागर्न पाउने गरी सिफारिस गरेको र नेपाल बाहिरिनेका लागि पीसीआर रिपोर्ट अनिवार्य शर्तलाई हटाएको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । गन्तव्य मुलुकको शर्त अनुसार नेपालबाट बाहिर जानेका लागि खोप कार्ड मात्र भए हुने र नेपाल भित्रिनेका लागि भने पीसीआर रिपोर्ट अनिवार्यनै शर्त राखेको उहाँले बताउनुभयो । सीसीएमसीसीले गत शुक्रबार नै सो निर्णय गरेको बताइएको छ ।
यो निर्णय कार्यन्वयनका लागि मन्त्रीपरिषदमा पठाइ सकेकाले तत्काललै लागू हुने समेत उहाँले बताउनुभयो । नेपाल आउँदा सीसीएमसीसी अनिवार्य भर्नुपर्ने व्यवस्थालाई यथावत राखिए पनि पुराना कडा व्यवस्थालाई खुकुलो बनाउने निर्णय गरेको जनाएको छ । विश्वका अन्य मुलुकले आवतजावतमा सहज व्यवस्था गरे पनि नेपाल आउँदा झन्झटिलो प्रकृया अपनाउनुपर्ने भन्दै गुनासो आएपछि सीसीएमसीसी नयाँ निर्णय गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणदर कम हुँदै गएपनि सरकारले नेपाल प्रवेश गर्ने पर्यटकहरुले पालना गर्ने स्वास्थ्य प्रोटोकल खुकुलो नबनाउँदा पर्यटक आगमन सहज नभएको व्यवसायीहरुको गुनासो छ ।
अधिकांश राष्ट्रले विमानस्थलमा आवागमनलाई सहज बनाए पनि नेपाल प्रवेशमा भने अझै कडाइ गर्दै आएको छ । नियम परिमार्जन नहुँदा पर्यटकको आगमन र बुकिङमा बाधा पुगेको ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो । नेपाल प्रवेशमा अनिवार्य पीसीआर जाँच गरी नेगेटिभ रिपोर्ट, सीसीएमसीसी फारम अनिवार्य भर्नुपर्ने र खोप नलगाएका पर्यटकले सम्बन्धित क्षेत्रबाटै भिषा लगाएर आउनु पर्ने जस्ता व्यवस्थाले पर्यटकलाई झन्झट हुने गरेकाले आगमनमा बाधा पुगेको सुवेदीले बताउनुभयो ।
अन्य देशको तुलनामा नेपाल प्रवेशमा निकै झन्झट हुने गरेको र कर्मचारीले सहज बनाइ दिनभन्दा पनि उल्टो दुर्व्यवहार गर्ने गरेको बुधबार अमेरिकाबाट नेपाल आउनुभएका स्याङमु शेर्पाले गुनासो गर्नुभयो । कोरोना सङ्क्रमण विश्वभरनै कम भएको छ, बेलायतले पूर्ण रुपमा आवतजावतलाई सहज बनाएको छ, तर नेपाल आउन निकै झन्झटिलो प्रक्रिया अपनाउनुपर्ने बाध्यता छ । यो व्यवस्थालाई परिमार्जन नगरे तत्काल नेपालमा पर्यटकको सङ्ख्या वृद्धि हुने सम्भावना छैन तर, सहज व्यवस्था भए आउने हिउँदसम्ममा पर्यटन क्षेत्र पुरानै गतिमा फर्कने पर्यटन व्यवसायी टीकाराम गुरुङ बताउनुहुन्छ । पर्यटकको बुकिङको धमाधम भएकाले तत्काल नयाँ व्यवस्था लागू गर्नुपर्ने उहाँले माग गर्नुभयो ।
नयाँ व्यवस्था ल्याउने बारे सरकारले निर्णय नगरेको र पुरानै व्यवस्थालाई अनुसरण गरेर काम गर्दै आएको अध्यागमन विभाग, पर्यटक भिषा शाखाका अधिकृत जनार्दन रिजालले बताउनुभयो । सङ्क्रमणदर कम भएपछि कार्यन्वयनको अवस्था अली फितलो भएको छ, यसै अवस्थालाई हेर्दा नयाँ व्यवस्था ल्याए पर्यटकका लागि सहज हुने उहाँको भनाइ छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यता पर्यटकका लागि सहज व्यवस्था गरेर आगमनलाई सहज बनाउने र पर्यटन क्षेत्रलाई पुरानै गतिमा फर्काउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पहल थालेको प्रवक्ता टेकराज पाण्डेले बताउनुभयो ।
सङ्क्रमणदरको अवस्थालाई मध्यनजर गरी कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गत शुक्रबारनै पुराना व्यवस्थालाई खुकुलो बनाउने निर्णय गरी सरकार समक्ष सिफारिस गरेको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले बताउनुभयो । सीसीएमसीसी फारम अनिवार्य भर्नुपर्ने तर व्यवस्थाहरु सहज बनाएको, नेपाल प्रवेशमा पीसीआर रिपोर्ट अनिवार्य र नेपाल बाहिरीनेका लागि गन्तव्य देशको निर्णयको आधारमा अनिवार्य नगरेको उहाँले जानकारी दिनुभयो ।