४३ गाइडलाई कारवाही गर्दै पर्वतारोहण संघ
काठमाडौं, फागुन २३ गते । पर्यटन विभागले पर्वतारोहीहरुलाई माउन्टेन गाइड लाइसेन्स प्रदान गरेको भन्दै अदालतमा उजुरी दर्ता गर्ने ४३ जना गाइडलाई नेपाल पर्वतारोहण संघले कारवाही गर्ने भएको छ । गाइडहलाई संघले स्पष्टीकरण सोधेपनि चित्तबुझ्दो जवाफ नआएको भन्दै विधानअनुसार कारवाही गर्ने तयारी थालेको संघका अध्यक्ष शन्तविर लामाले जानकारी दिनुभयो ।
नेपाल पर्वतारोहण संघको साधारण सदस्य समेत रहेका यी ४३ जना गाईडले सरकारकै निर्णय विपरित संस्थालाई चोट पुग्ने गरी गतिविधि गरेको संघले निष्कर्ष निकालेको छ । विभागले संघबाट रातो किताव लिने पर्वतारोहीलाई माउन्टेन गाइड लाइसेन्स प्रदान गरे पनि नेपाल राष्ट्रिय पर्वतीय पथ प्रदर्शक संघका गाइडहरुले विरोध गर्दै तत्काल लाइसेन्स वितरण बन्द गर्नुपर्ने माग सहित अदालतमा उजुरी दिएका थिए ।
नेपाली गाइडको लाईसेन्स प्राप्तिमा अवरोध गर्नु, संस्थालेनै हुर्काएको गाइडहरुले संस्थाकै विरुद्दमा कार्य गर्नु अमान्य भएको अध्यक्ष लामाको तर्क छ । संघले प्रत्येक वर्ष माउन्टेन गाइड उत्पादन गर्न करिव एक करोड बढी रकम विनियोजन गर्दै आएको छ । संघ आवध्द गाईडहरुलाई विधानअनुसार उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरि एनएमए रातो किताव (माउन्टेन गाइड लाइसेन्स)बाट समेत निलम्बन गर्ने तयारी थालेको जनाएको छ । विभागले यस अघि पहिलो पटक करिव तीन सय बढी गाइडलाई लाइसेन्स प्रदान गरेको थियो ।