logo
२०८० चैत्र १६ शुक्रवार



दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रधानमन्त्री देउवा

मुख्य समाचार |


दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रधानमन्त्री देउवा
राप्रपाको एकता महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर, रासस


काठमाडौँ, मङ्सिर १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

यही हप्ता नेकपा (एमाले)को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली काँग्रेस पनि अर्को हप्ता १४ औँ महाधिवेशनका तयारीमा जुटेको बताउनुभयो । सबै दलका महाधिवेशनले राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय एकताको आवश्यकता रहेको औँल्याउनुभयो । मुख्य राजनीतिक दलबीच अन्तरविरोध एवं विवादका माझ पनि साझा मुद्दामा एकता कायम हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनता र देशलाई राजनीतिको केन्द्रबिन्दु बनाएर साझा विषयमा सबै दलबीच एकता कायम हुनुपर्ने बताउनुभयो ।

राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका विषयमा मुख्य दलले एकता गरेर अघि बढ्न राप्रपाको महाधिवेशनले योगदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजनीतिक परिवर्तनको मूल कारण आन्तरिक शक्ति भएको उल्लेख गर्नुहुँदै पूर्वप्रधानमन्त्री नेपालले यसमा कसैले भ्रम पालेको भए अन्त्य गर्न अनुरोध गर्नुभयो ।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थिरताका लागि मुख्य दलको बीचमा साझा मुद्दा निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । सबै दलले देशभन्दा ठूलो अरु हुन नसक्ने भावमा साझा मुद्दा निर्माणमा काम गर्नुपर्ने उहाँको विचार थियो ।

नेकपा (माले) महासचिव सिपी मैनालीले २००७, २०४६ र २०६३ को परिवर्तन बाह्य शक्तिको प्रभावमा भएकाले राजनीतिक स्थिरता कायम हुन नसकेको दाबी गर्नुभयो । सबै दलले देशभक्तिलाई समेटेर साझा मुद्दामा एकता कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले राप्रपा नेता कमल थापा उपप्रधानमन्त्री हुँदा उहाँको संयोजकत्वमा रहेको सरकारी वार्ता टोलीसँग मधेसका मुद्दाको विषयमा भएको पार्टीको सम्झौता कार्यान्वयन गराउने दिशामा महाधिवेशनले नीति बनाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले सङ्घीयता उपयुक्त छैन भनी अन्तरिम संविधानकालदेखि नै पार्टीले भन्दै आएको उल्लेख गर्नुहुँदै प्रदेशको खर्च कटाएर स्थानीय तहलाई दिई अधिकार क्षेत्र बढाउने गरी राप्रपाले पनि प्रस्ताव पारित गर्न सुझाव दिनुभयो ।

जनता समाजवादीका नेता प्रकाश अधिकारीले विभेद अन्त्य नभई देशमा विकास नहुने भएकाले संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनमार्फत सबैका मुद्दा समेटेर राष्ट्रिय एकता कायम गरिनुपर्ने उहाँको भनाइ थियो । तस्बिर : विकास द्वारे 

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?