logo
२०७९ जेष्ठ १२ बिहीवार



प्रविधि भित्रिएसँगै मुसहरको खोसियो रोजगारी

खुला |
प्रदेश |


प्रविधि भित्रिएसँगै मुसहरको खोसियो रोजगारी


हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ), माघ ८ गते । माटो काट्ने, पोखरी खन्ने, डाँडाकाँडा बिराएर खेतीयोग्य जमिन बनाउने काम गर्दैआएका अल्पसङ्ख्यक ऋषिदेव (मुसहर) हरू बेरोजगार बन्दैगएका छन् ।
तराईमा औलो रोगलाई जितेका ऋषिदेवहरू कृषिमा एकपछि अर्को प्रविधि भित्रिएसँगै बेरोजगार बन्दैगएका हुन् । जमिनका नाममा पाँच छ धुर ऐलानी जग्गामा घामपानीसम्म छल्ने घर बनाएर बसेका ऋषिदेवहरू प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्दा उठ्नै नसक्ने गरी थला परेका छन् ।

मोरङको कानेपोखरी –५ भौंसाबारीका ४१ वर्षीय अच्छेलाल ऋषिदेवले भन्नुभयो “गाउँमा काम छैन् । ट्याक्टरले जोत्छन् । स्कावेटर र जेसीबीले पोखरी खन्छन् । गाउँ गाउँमा जेसीबी छन् ।” सडक बनाउनुपर्दा होस वा अरु कुनै काम जहाँ पनि यसअघि आफूहरुले नै काम पाउने गरेको उहाँले स्मरण गर्नुभयो । माटोको काम र कृषिमा प्रविधि भित्रिएपछि ऋषिदेवहरू जङ्गल जाने दाउरा काट्ने र गाउँ, शहरमा लगेर बिक्री गरी घर चलाउने गर्थे । तर २०५२ देखि सामुदायिक वनको अवधारणा आएपछि जङ्गल पस्न पाएका छैनन् ।

काम नपाएपछि मुसहर बस्तीका धेरै लाठे र तन्नेरीहरू भारत पलायन भएका छन् । अच्छेलालले थप्नुभयो “केही काम नभएपछि केटाहरू बिनायोजना बाटोघाटो नबुझिकन भारत जान्छन् । गाउँबाट भारत गएका २ जना त अझै गाउँ फर्केका छैनन् ।” आफू पनि ८ महिना सडकमा बेवारिसे भएर ठूलो हन्डर खेप्दै नेपाल फर्किएको उहाँले बताउनुभयो ।

राजेश ऋषिदेवले गाउँ छोडेको १२ वर्ष भयो । बीचमा एक पटक आएर परिवारै लग्नुभएका राजेशले त्यसपछि गाउँघरका आफन्त कसैलाई सम्पर्क नगर्नुभएको उहाँले बताउनुभयो । दुई वर्षअघि घर छोडेर हिड्नुभएका ३८ वर्षीय चन्द्र ऋषिदेव भारत गएदेखि एक पटक पनि सम्पर्क नगरेको उहाँको भनाइ छ ।

उहाँका छोरी चन्दाले भन्नुभयो, “फोन पनि आउँदैन । पैसा पनि पठाउनुभएको छैन् ।” अच्छेलालले आफू रेल्वे स्टेसनमा केरा बेचेर घर फर्कने भाडा कमाएर फर्किएको बताउनुभयो । रामप्रसाद ऋषिदेवको भनाइ झनै दुःखलाग्दो छ । उहाँ भन्नुहुन्छ, “जागिर खाउँ पढेको छैन्, आफूले जानेको काम गाउँतिर पाउनै छोड्यो ।”

भएको जग्गा सबै प्लटिङ गरेर सकिसकेको उहाँले बताउनुभयो । रामप्रसादले पनि छोरीलाई साउदीअरव पठाउनुभएको छ । तर, छोरी साउदीअरब कसरी पुगिन भन्ने उहाँलाई जानकारी छैन् । “गाउँमै विदेश पठाइदिने भन्दै एजेन्ट आए । मैले पठाइदिएँ” उहाँले भन्नुभयो ।

विदेशबाट बल्ल बल्ल फर्किएका युवाहरू पनि धेरैजसो बिरामी भएर फर्किन्छन् । आठ वर्षसम्म बेखबर भएर आएको छोरो श्यामको घर फर्किएको ४ महिनापछि मृत्यु भएको ६७ वर्षीय रुद्नी ऋषिदेवले बताउनुभयो । भौंसावारीमा २०५८ सालको हैजा र कालाज्वारले १६ जनाको ज्यान लिएर गाउँ नै सखाप पारेको उहाँहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?