logo
२०८१ मंसिर १४ शुक्रवार



माथिल्लो तामाकोसी : ३७३ मिटर भर्टिकल सुरुङमा पाइप राखियो

अर्थ |


माथिल्लो तामाकोसी : ३७३ मिटर भर्टिकल सुरुङमा पाइप राखियो


कैलाश लामा

चरीकोट (दोलखा), जेठ १२ गते । बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिसकेको माथिल्लो तामाकोसी आयोजनाको महŒवपूर्ण र जटिल मानिएको ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको छ ।
अस्ट्रियन कम्पनी एन्ड्रिजले शनिबार बिहान ४ः०० बजे अन्तिम डेढ मिटरको पेनस्टक पाइप भर्टिकल साफ्टमा झारेसँगै तल्लो भर्टिकल साफ्टको काम सम्पन्न भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तल्लो भर्टिकल साफ्टमा ७३ वटा पाँच मिटरको पाइप र अन्तिममा डेढ मिटरको पेनस्टक पाइप जडान गरिएको छ । योसँगै तामाकोसी आयोजनको उत्पादन मिति नजिकिएको छ ।
त्यसैगरी भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा २४६ मिटर पेनस्टक पाइप जडान गरिसकेको छ भने बाँकि रहेको ६४ मिटर पाइप जडान असारको पहिलो हप्तामा सकिनेगरी काम भइरहेको प्रवक्ता डा. न्यौपानेले बताउनुभयो । सबैभन्दा कठिन मानिएका यी सुरुङमा पेनस्टक पाइप राख्ने कामले गति लिन नसक्दा तामाकोसी आयोजनाको उत्पादन मितिसमेत पटकपटक पछि धकेलिएको थियो ।
पाँच मिटर लम्बाइ र २७ टन तौलसम्मका पेनस्टक पाइपलाई ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गरिँदै आएको छ ।
आयोजनामा मुख्य कामदार तथा प्राविधिक चिनियाँ, इटालियन, भारतीय र नेपाली नागरिक रहेको र उनीहरू कोरोनाको समस्या हुनुअघि देखि नै निरन्तर आयोजनाको काममा नै रहेकाले कोरोना भाइरसको सङ्क्रमणले समस्या नभएको प्रवक्ता डा. न्यौपाने बताउनुहुन्छ ।
हाल आयोजनमा चार सयभन्दा बढी कामदार तथा कर्मचारीले काम गरिरहेका छन् । चाइनिज कम्पनी सिनो हाइड्रोले सिभिल, अस्ट्रियन कम्पनी एन्ड्रिजले इलेक्ट्रोमेकानिकल, भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले हाइड्रोमेकानिकल र अर्को भारतीय कम्पनी केईसीले सबस्टेसन तथा प्रसारण लाइनको काम गर्दै आएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?