logo
२०८१ मंसिर १४ शुक्रवार



सातबाहेक सबै स्थानीय तहमा बैङ्क

अर्थ |


सातबाहेक सबै स्थानीय तहमा बैङ्क


भेषराज बेल्बासे

कठमाडौँ, जेठ १४ गते । चालू आर्थिक आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण संसद्मा सार्वजनिक गर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले प्राविधिक कारणले रोकिएका सातवटा स्थानीय तहबाहेक सबैमा वाणिज्य बैङ्कका न्यूनतम एक शाखा पुगेको बताउनुभयो ।
२०७६ फागुनमा निक्षेप खाताको सङ्ख्या तीन करोड १७ लाख ३२ हजार, मोबाइल बैङ्किङ प्र्रयोगकर्ताको सङ्ख्या एक करोड तीन लाख ३५ हजार र इन्टरनेट बैङ्किङ सेवाका प्रयोगकर्ता नौ लाख ९८ हजार रहेका छन् । पछिल्ला वर्षमा बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तारमा उल्लेख्य प्रगति भएको छ । २०७६ फागुन मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या (लघुवित्तसमेत) नौ हजार ६४० पुगेको छ ।
२०७६ साल पुस मसान्तमा वित्तीय क्षेत्रको कुल सम्पत्ति÷दायित्व संरचनामा बैङ्क तथा वित्तीय संस्थाको अंश ८८.०१ प्रतिशत रहेको छ । यस्तो सम्पत्ति÷दायित्व संरचनामा नेपाल राष्ट्र बैङ्कको अंश १६.८ प्रतिशत र वाणिज्य बैङ्कहरूको अंश ५७.६ प्रतिशत रहेको छ । बैङ्किङ क्षेत्र र सम्झौतित बचत परिचालन गर्ने संस्थाहरूको कुल सम्पत्ति दायित्व कुल गार्हस्थ उत्पादनको १६१.०३ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैङ्कको अध्ययनअनुसार २०७६ असारमा राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूमध्ये वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूमा खोलिएका निक्षेप खाताको आधारमा ६०.९ प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको छ । साथै सहकारी संस्थामा करिब २२ प्रतिशत र लघुवित्तमा १४ प्रतिशत जनताको आबद्धता रहेको देखिन्छ ।
२०७६ फागुनमा कायम रहेका वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघुवित्तका कुल शाखाको आधारमा प्रतिशाखा औसत ३०७२ जनसङ्ख्यामा सेवा पुगेको छ । गत वर्ष फागुनसम्मको यस्तो जनसङ्ख्या ३६२६ रहेको थियो ।
चालू आर्थिक वर्षमा वित्तीय स्थायित्वका सूचकहरू समग्रमा सबल रहेका छन् । बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपात भने २०७६ असारमा १.५ प्रतिशत रहेकामा २०७६ पुसमा १.८ प्रतिशत पुगेको छ । यसैगरी २०७६ फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २२.६ प्रतिशत तथा मौज्दात अंश ९.९ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पुँजीमा कुल कर्जाको अंश ७६.७ प्रतिशत रहेको छ । जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी र कुल पुँजीको अनुपात क्रमशः ११.८ प्रतिशत र १३.७ प्रतिशत रहेको छ ।
वित्तीय सुदृढीकरणमार्फत वित्तीय स्थायित्व हासिल गर्ने लक्ष्यका साथ अवलम्बन गर्दै आएको मर्ज प्राप्ति नीतिले आव २०७६÷७७ मा थप गति लिएको छ । बैङ्क तथा वित्तीय संस्था गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ फागुन मसान्तसम्म कुल १८७ बैङ्क तथा वित्तीय संस्था मर्जर प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था कायम भएका छन् ।
नेपाली अर्थतन्त्रमा वित्तीय प्रगाढता क्रमशः बढ्दै गएको छ । गत फागुन मसान्तसम्म गरी २२ प्रतिशत जनताको बीमामा पहुँच पुगेको छ । वैदेशिक रोजगार र म्याद जीवन बीमासमेत गणना गर्दा बीमामा करिब २६ प्रतिशत जनताको पहुँच पुगेको अनुमान छ ।
सङ्घीय संरचनाअनुरूप बीमा कम्पनीलाई शाखा स्थापना तथा विस्तार गर्न निर्देशन दिइएकामा गत फागुन मसान्तमा बीमाको शाखा सङ्ख्या जीवन बीमातर्फ १८२७ र निर्जीवन बीमातर्फ ११७० गरी जम्मा २९९७ रहेको छ । गत फागुन मसान्तसम्ममा बाग्मती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम बीमकको सङ्ख्या रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?