गागा (दार्चुला), जेठ १६ गते । दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा फलेको स्याउ यसपालि बिक्री भएन ।
विगतमा स्याउ लिन आउने भारतीय व्यापारी यसपालि आएनन् । नेपाली बजार दार्चुलामा स्याउ बिक्री गर्न लैजाने हो भने खच्चरको भाडा जोड्दा मूल्यभन्दा दोब्बर लागत पर्ने देखियो । त्यसैले उहाँले गते असोज/कात्तिक महिनाभरि व्यापारीको बाटो कुर्नुभयो तर कोही नआएपछि उहाँले मन कुँड्याउँदै स्याउ घरभित्रै पोको पारेर राख्न बाध्य हुनुभयो ।
सकेसम्म नकुहियोस् भनेर घरमा भएका डेक्ची, खँड्कुलो, प्याष्टिकका भाँडा, बोरालगायत घरमा भेटेसम्मको भाँडाकुँडामा टम्म पारेर स्याउ कोच्नुभएको थियो । यसरी कोच्नु उहाँको बाध्यता थियो, किन कि जाडोले हिउँ जमेर गाउँमा बस्न सक्ने अवस्था नभएपछि नबिकेको स्याउ घरभित्र छाडेर गएको कात्तिकमा उहाँको परिवार दार्चुला झर्नुपर्छ । जाडोले गाउँमा ६ महिनामात्रै बस्न सकिन्छ ।
जाडो छल्न जानेहरु अघिपछि सामान्यतः चैतमा घर फिर्छन् । तर यसपालि कोरोनाको सङ्क्रमणका कारण भएको बन्दाबन्दीले असर ग¥यो । उहाँलाई पनि त्यसले छोयो ।
छाङरु आउनलाई भारतको बाटो भएर आउनुपर्छ । नेपालबाट बाटो छैन । दार्चुलाबाट झण्डै ८० किलोमिटरको दूरीमा रहेको छाङरुमा हिँडेर आउन झण्डै पाँच दिन लाग्छ । यसपालि कोभिड–¬१९ सङ्क्रमणका कारण भारतले बाटो प्रयोग गर्न दिएन । सबै गाउँले अड्किए । उहाँ गत वैशाख ३१ गते सशस्त्र प्रहरीको सीमा निगरानी चौकी स्थापनाका लागि प्रयोग भएको सेनाको हेलिकप्टर चढेर घर पुग्नुभयो । उहाँकै घर भाडामा लिएर अहिले सशस्त्रले पोष्ट राखेको छ ।
घर पुग्न नपाउँदै शुरुमा घरमा राखेको स्याउको अवस्था के छ भनेर उहाँले हेर्नुभयो । विडम्बना सबै खान नहुने गरी कुहिएको फेला प-यो । “अघिपछि चिसोमा बिग्रिँदैनथ्यो, यसपालि आउन ढिला भयो, त्यसैले बिग्रिएछ, ठूलै घाटा लाग्यो”, मन खिन्न पार्दै उहाँले भन्नुभयो ।
छाङरुमा उहाँको तीन रोपनी जग्गा छ । यहाँ स्याउका ६०० बोट छ । अर्काे एक भूभू भन्ने स्थानमा ८०० बोट स्याउ छ । उहाँका अनुसार वर्षमा २० देखि ३० क्विन्टलसम्म स्याउ फल्छ । गाउँका ११५ घरमध्ये सबैभन्दा धेरै स्याउ फलाउने उहाँ हुनुहुन्छ । अन्य व्यक्तिको बारीमा दुई÷चार बोटका दरले स्याउ छ ।
अघिल्लो वर्ष प्रतिकिलो भारु ७० मा बिक्री भएको स्याउ किन्न यसपालि भारतीय व्यापारी नआउँदा त्यसै थन्किएको हो । सीमा जोडिएकाले नजिक नेपाली बजार नहुँदा सबै उत्पादनको बिक्री केन्द्र भारत हो । गएको वर्ष ती भारतीय व्यापारी स्याउ किन्न आएनन् । उनीहरुले अन्य ठाउँबाटै स्याउ लगेको उहाँ बताउनुहुन्छ ।
आफ्नै क्षमताले दार्चुला पुर्याउन बाटो नभएको र खच्चडलाई बोकाएर लैजाँदा महँगो हुने भएकाले दार्चुला लैजान नसकिएको उहाँले बताउनुभयो । “यसपालि सबै खेर गयो, के गर्नु नेपालमा बाटो भइदिएको भए बजार लगेर बेच्नुहुन्थ्यो”, कुहिएको स्याउ देखाउँदै उहाँले भन्नुभयो ।
आलु, बन्दा पनि बिग्रियो
स्याउमात्रै होइन आलु उम्रिएर बोराभरि लामालामा टुसा भइसकेछ । कतिपय आलु कुहिएको फेला पर्यो । केही आलु खान हुनेखालको पनि भेटियो । दलिनमा झुण्ड्याएर राखिएको बन्दा लगभग खान नमिल्ने गरी सुकिसकेको छ । फर्सी पनि कुहिएको भेटियो ।
झण्डै २० क्विन्टल आलु पनि घरभित्रै त्यसै थन्किएर बसेको छ । नबिकेको फलफूल र तरकारी राखेर जाडो छल्न बेँसी झरेको थियो उहाँकोे परिवार । यसपालि तरकारी फलफूल गरेर झण्डै तीन लाख भारु घाटा लागेको उहाँ अनुमान गर्नुहुन्छ ।
उहाँले दुई वर्षअघि २५ क्विन्टल आलु, २० क्विन्टल स्याउ र पाँच क्विन्टल बन्दागोपी, फर्सी (कद्दु) बिक्री गर्नुभएको थियो । त्यो बेला पाँच लाख रुपियाँभन्दा बढी नाफा भएको थियो । त्यो सबै अहिले खेर गएको भन्दै उहाँ दुखेसो पोख्नुहुन्छ ।
श्रीमती सुधा बोहराको साथमा उहाँ आफ्नो कृषि कर्ममा खटिनुहुन्छ । उहाँहरु तरकारी उत्पादनसँगै व्यापार पनि गर्नुहुन्छ । चीनबाट तयारी सामग्री ल्याएर भारतको धार्चुलालगायत विभिन्न मेलामा लगेर बेच्नुहुन्छ । बाँकी समय आफ्नै गाउँमा कृषिकर्म गरेर रमाउनुहुन्छ ।
नेपालमा दैनिक लाखौँको तरकारी फलफूल भारतबाट आउँदै गर्दा यसरी नेपालमै उत्पादन गरेको फलफूल तथा तरकारी गाउँमै सुक्ने गरेको यो एउटा उदाहरण मात्रै हो ।
बाटोघाटोको सहज आवागमन नहुँदा र बजारको व्यवस्थापन नहुँदा यसैगरी नेपाली अर्ग्यानिक उत्पादन धेरै जिल्लामा खेर गइरहेको छ ।